दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप-सहायक विदेश मन्त्री केल्ली किडरलिङ आइतबार नेपाल भ्रमणमा आएकी छन्।
नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीका अनुसार उप-सहायक विदेशमन्त्री किडरलिङ् केही दिन नेपालमा रहनेछिन्।
राजदूत बेरीले अमेरिकी वरिष्ठ अधिकारीको नेपाल भ्रमणबारे विस्तृत खुलाएका छैनन्।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्न लागेका बेला विदेशमन्त्री किडरलिङको भ्रमण भएको हो।
उनी ५ महिनाको अन्तरमा दोस्रोपटक नेपाल भ्रमणमा आएकी हुन्। यसअघि उनी नोभेम्बर तेश्रो साता काठमाडौ आएर सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग भेटेकी थिइन्।
त्यही बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमै थिए।
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको संसदीय अनुमोदनबारे राजनीतिक दलहरु तिव्र विभाजित भएकै बेला दुईजना अमेरिकी अधिकारी एकैसाथ नेपाल भ्रमणमा आएको विषय चर्चित भएको थियो।
नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने किडरलिङ् पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन्।