कांग्रेस नेता गुरुराज घिमिरेले किन गरे सक्रिय राजनीतिबाट बिदा लिने निर्णय?

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको भोलिपल्ट मंगलबार बिहानै उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गतेको चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने बताएका हुन्।

सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ’, उनले ट्विट गरेका छन्, ‘स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ।’

आखिर एकाएक यस्तो निर्णय किन गरे?

नेपालखबरको जिज्ञासामा उनले यसो भनेः

लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने एउटा सच्चा म लोकतन्त्रवादी, यसपटक टिकट वितरण मूल्य मान्यतामा आधारित देखिएन। योचाहिँ वास्तवमा पहुँचका आधारमा, शक्तिका आधारमा र एकप्रकारको व्यक्तिगत स्वार्थका आधारमा टिकट वितरण भयो। यसले हजारौं साथीमाथि अन्याय भयो। केही राम्रा साथीले पनि अवसर पाउनुभएको छ।

तर त्यो संख्या न्यून छ। अधिकांश साथीमाथि एकदमै अन्याय भयो। र, त्यो अन्याय भएको कुरालाई मैले चुपचाप सहन सकिनँ। बीपी कोइरालाले नै भन्नुभएको छ कि पार्टीमा भएको अन्याय टुलुटुलु हेरेर बस्नु भनेको चाहिँ दासता हो। मैले सहन सकिनँ। यत्रो ठूलो पार्टीमा यति ठूलो नेताहरुको जमात भएको पार्टीमा अन्याय भयो भनेर एक जना पनि बोल्ने नेता देखिनँ। यति धेरै साथीहरुमाथि अन्याय भयो भनेर बोल्ने एउटा नेता पनि मैले देखिनँ। सबै गुटहरुले अन्याय गरे। एउटा गुट विशेषले मात्र होइन। संस्थापनले गर्यो, संस्थापन इतरले गरेन भन्ने होइन।

सबै गुटले अन्याय गरे, बोल्दिने कोही पनि भएन, यसलाई मैले सहन सकिनँ। त्यसैले मैले यस्तो प्रपञ्च, षड्यन्त्र, जालझेलको राजनीतिको साक्षी किन बस्ने? चुनावको मितिसम्म सहयोग गर्ने राम्रा साथीहरुलाई। मलाई ठीक लागेको ठाउँमा मैले मद्दत गर्ने। त्यसपछि निष्क्रिय हुने, स्वतन्त्र जीवन बिताउने।

यसमा पुनर्विचार हुन्छ कि?

पुनःविचार हुँदैन, यो यथास्थितिमा पुनः विचार हुँदैन। अब अरु बाटा छैनन् मेरा लागि। निष्क्रिय हुनुभन्दा अर्काे कुनै बाटै देखिनँ मैले।

भित्रै बसेर विद्रोह गर्ने सोच बनाउनुभएन?

मैले धेरै हन्डर खाइसकेँ। एकचोटि मात्र होइन, ममाथि मेरो विचारमाथि मेरो दृष्टिकोणमाथि बारम्बार प्रहार भएको छ। सुरुदेखि अहिलेसम्म ममाथि दर्जनौंपटक प्रहार भइसकेको छ, दर्जनौंपटक। राष्ट्रिय स्तरमा होस् वा स्थानीय स्तरमा ममाथि दर्जनौंपटक प्रहार भइसकेको छ। यो प्रहार सहने पनि सीमा हुन्छ नि! पानीचाहिँ नाकबाट माथि गयो। त्यसैले मैले यो आफ्नो विचार राखेको।

Leave a comment

Your email address will not be published.