जहाँ महिलाको सम्मान हुन्छ, त्यहाँ ईश्वर रमाउँछन्: ओली

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएका केशव स्थापितले एउटा चारित्रिक प्रश्नको जबर्जस्त सामना गरिरहनुपरेको छ। महिलामाथि यौनजन्य हिंसा गरेको आरोप उनीमाथि लागेको छ। यो आरोपको जवाफ दिने क्रममा स्थापितले सार्वजनिक मञ्चमा प्रकट गरेको आक्रोशले उनी थप विवादित बनेका छन्।

विहीबार धुम्बाराहीको नेशनल कलेजमा आयोजित काठमाडौं महानगरका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा केशव स्थापितले आक्रोशित मुद्दामा ‘मीटू’ सम्बन्धी आरोपको जवाफ दिइरहँदा एमाले महानगर कमिटीले आयोजना गरेको अर्को कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि केशव स्थापितको बचाऊ गरिरहेका थिए।

स्थापितको बचाउमा ओलीले थोरै मात्र बोले। त्यसपछि उनले महिलासम्बन्धी नेकपा एमालेको नीति के हो भन्ने सैद्धान्तिक पक्षको विश्लेषण गरे। ओलीले स्थापितका बारेमा भने, ‘हामीले अनुभवी, मेयर भएर चलाइसकेका र अनुभवसँगै उत्साह पनि कायमै रहेका व्यक्तित्व केशव स्थापितलाई मेयरको उम्मेदवार उठाएका छौँ। यस्ता चुनावका बेला अनेकथरी कुराहरु उछाल्छन्।….मीटू आउँछन् यस्ता बेलामा!’

एमाले अध्यक्ष ओलीले भने, ‘कसैले महिला अस्मितालाई अवमूल्यन गर्न, होच्याउन अथवा त्यसको बेवास्ता गर्न अथवा त्यसमाथि खेलवाड गर्न पाउँदैन। नेकपा एमालेको यो नीति हो।’

पूर्व प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्याका सन्दर्भमा पनि अभिव्यक्ति दिएका छन्। निर्मलाको विभत्स बलात्कारपछि हत्या भएको स्मरण गर्दै ओलीले उक्त हत्याको छानबिन गर्न कांग्रेसले नदिएको आरोप लगाए।

महिला अधिकार र अस्मिताका सन्दर्भमा एमाले अध्यक्ष ओलीको अभिव्यक्ति जस्ताको त्यस्तै:

मैले त के देखेको छु भने जो वाइडबडी खाने छ, उसैले वाइडबडी वाइडबडी भन्छ। अचम्म लाग्छ। अनि जसले २४ लाख भ्याक्सिन झ्वाम्मै खान्छ, उसले ५ हजारमा मैले सुई पैसा तिरेर पो लगाएको थिएँ भनेर बकवास गर्छ। यस्ता खालका प्रचारहरु आउँछन्। कुप्रचारहरु आउँछन्। चरित्र हत्याका कुराहरु आउँछन्। मीटू आउँछन् यस्ता बेलामा!

अब मीटूको के जवाफ हुन्छ ? मीटू ! मीटूको कुनै जवाफ हुन्छ ? मीटू। कतिखेर आउँछ मीटू भन्दा चुनाव आयो कि मीटू। हामी यस्ता कुराहरुमा होइन, महान उद्देश्यतर्फ अगाडि बढेका छौँ।एउटा कुरा म के भन्न चाहन्छु भने महिला अस्मिताको सम्बन्धमा, महिला अधिकारको सम्बन्धमा, महिला सुरक्षाको सम्बन्धमा, महिला अस्मिताको सम्मानको सम्बन्धमा नेकपा एमालेजति सजग अरु कोही पनि छैन।

नेकपा एमालेले महिलाहरुलाई अगाडि बढाउने सन्दर्भमा अगाडिदेखि महिला सहभागिता अभिवृद्धि गर्ने र महिला सामाजीकरण, सशक्तीकरण, शिक्षामा महिला सहभागिता र त्यसमार्फत सम्पत्तिको अधिकारमा महिलाको सहभागितादेखि लिएर अधिकारका विभिन्न पक्ष र नीति निर्माणका तहमा महिलालाई पुर्याउने कुराहरुमा अगाडि बढ्न खोजेका छौँ।

एउटा विकृत मानसिकता फैलाउन खोजिएको छ। सँगैसँगै समाजमा काम गर्नुपर्छ। अब महिला घर, चुलोचौकोभित्र मात्रै छैनन्, सामाजिक मैदानमा उठेका छन्। सँगै हिँड्नुपर्छ। सँगैसँगै हिँडेपछि आरोप लाइदिने ! बात लाइदिने ! सँगै हिँडेका थिए भनिदिने ! त्यस्तो गरेर महिलालाई हतोत्साहित गर्ने अथवा महिला सुरक्षित हुने रैनछन्, सुरक्षा कहीँ पनि हुने रैनछ भन्ने एउटा भ्रमपूर्ण दृष्टिकोणबाट बाबुआमालाई, अभिभावकलाई पनि त्रसित बनाइदिने, खुदै महिलाहरुलाई त्रसित बनाइदिने यस्ता प्रयासहरु पनि हुन्छन्।

आत्मसुरक्षाको अभियान सञ्चालन गरिरहेका छन् केही दिदी बहिनीहरूले। म धन्यवाद भन्न चाहन्छु। र, हीन ग्रन्थी पाल्ने होइन। डरपोक हुने होइन। साहसका साथ।कसैले महिला अस्मितालाई अवमूल्यन गर्न, होच्याउन अथवा त्यसको बेवास्ता गर्न अथवा त्यसमाथि खेलबाड गर्न पाउँदैन। नेकपा एमालेको यो नीति हो। महिला हिंसाका विरुद्धमा कसैले अभियान र आन्दोलन चलाएको छ भने नेकपा एमालेले नै चलाउँछ। महिला हिंसा विरुद्धका आन्दोलन, अभियान र महिला हिंसा विरुद्धका कारवाहीलाई पनि एमालेले नै अगाडि बढाउँछ।

तपाईंहरु देख्नुहुन्छ, निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्या भयो। विभत्स बलात्कार र हत्या भयो। त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले अगुवाइ गर्यो छानविन गर्न नदिन। यता छानविन गर्न खोज्यो, त्यहाँ भयंकर एउटा राजनीतिक पार्टी सिंगै उत्रिएर त्यसलाई दिशाहीन बनाउन खोज्ने र अर्कैतिर दिशा मोड्न खोज्ने, छानविन गर्न नदिने। उता छानविन गर्न नदिने, यता सडकमा चाहिँ छानविन होस् भन्ने।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ। नेपाली कांग्रेसले गृह मन्त्रालय सम्हालेको छ। नेपाली कांग्रेसको नेता गृहमन्त्री हुनुहुन्छ। ९–१० महिना कानमा तेल हालेर कसरी बस्नुभएको छ उहाँहरु ? हिजो नारा जुलुस गर्नुहुन्थ्यो, आज के गर्नुहुन्छ ? किन कराउनुहुन्न ? कराउनुपरेन, छानबिन गर्नोस् न अहिले।

त्यतिबेला छानविन गर्न दिइएन, अहिले हामी छानविन गर्न दिन्छौँ निर्वाध। तपाईंहरुजस्तो जुलुस निकालेर, डिस्टर्ब गरेर छानबिन गर्न नदिने होइन, हामी छनबिन गर्न दिन्छौँ। गर्नोस् न छानविन। अहिले किन गर्नुहुन्न ? यस्ता महिला हिंसाका घटनाहरु लगातार किन घटिराखेका छन्। यस्ता कुराहरु किन रोक्नुहुन्न?

अरु मैले धेरै केही भन्नुपर्ला जस्तो लाग्दैन। नेकपा एमाले महिलाहरुको सम्मान गर्छ। शास्त्रका कुरा भए पनि एमाले के मान्छ भने जहाँ महिलाहरुको सम्मान हुन्छ, त्यहाँ भगवान् ईश्वर अर्थात भद्र व्यक्तिहरु रमाउँछन्। देवगण त्यहाँ रमाउँछन्। दानव, राक्षसहरु त रमाउँदैनन्, त्यो बेग्लै कुरा होला तर देवगण त्यहाँ रमाउँछन्। जहाँ महिलाहरुको सम्मान गरिन्छ, पूजा गरिन्छ, महिलालाई सम्मानको दृष्टिले हेरिन्छ।

महिलाहरुको, मानवजातिको सृष्टि, लालन–पालन र तिनको महान व्यक्तित्व हुनेसम्मका सबै कामहरु महिलाले गर्छन्। ती महान महिलाप्रति सम्मान भाव राख्नुपर्छ भन्ने कुरो नेकपा एमाले जान्दछ। यो उसको नीति हो। यस अनुसारको अभ्यास हामी गर्छौँ।

Leave a comment

Your email address will not be published.