नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा सहभागी भए।
अमेरिकी दूतावासले होटेल हायातमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल र अमेरिकाबीच अझ बढी उच्चस्तरीय भ्रमण र आर्थिक साझेदारीको प्रतिक्षा गरिरहेको बताए।
नेपाल र अमेरिकाबीचको ७५ औँ कूटनीतिक सम्बन्ध मनाउनु भनेको दुई देशबीचका सबैखालका फलदायी क्षेत्रमा सम्बन्ध थप विस्तार गर्नका लागि अवसर प्रदान गर्नु हो भन्ने लाग्छ’ देउवाले भने।
आजै एक वक्तव्य जारी गर्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जलवायु संकट र ‘बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन’ अमेरिका र नेपालबीच थप सहकार्यको खाँचो रहेको बताएका थिए।
‘आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ’ राजदूत बेरीले वक्तव्यमा भनेका छन्।