नेपाल वायु सेवा निगमका कर्मचारी बेहोस भएको अध्यक्षको यातनाले भन्ने हल्ला ‘गलत’

नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट दाबी गरेको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पु¥याइएको जनाएको छ।

निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासि आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए।

उनले निगम अध्यक्षको कार्यकक्षमा लगाइएको ताला पनि सङ्गठनका पदाधिकारीले हिजै खोलिसकेको जानकारी दिए।

‘कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ गरिएको थियो, यही विषयलाई बढी हौवा फिजाइयो। निगमको प्रगति देख्न र सहन नसक्ने केही विरोधी स्वार्थी समूहको संलग्नतामा नकारात्मक प्रचारबाजी भएको छ’, अध्यक्ष अधिकारीले भने।

अधिकारीले बिरामी कर्मचारी ओझालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल मोडल अस्पताल पु¥याए पनि निगमकै कर्मचारीले अध्यक्ष अधिकारीलाई कमजोर पार्न गलत हल्ला फिँजाएको बताइएको छ।

हालै पर्यटनमन्त्री प्रेमबहादुर आलेले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण मागेको सूचना चुहाएको भन्दै ओझालाई अधिकारीले कार्यकक्षमा बोलाएर साधारण सोधपुछ गर्ने काम गरे पनि उक्त विषयलाई विभिन्न सञ्चारमाध्यम र निगमभित्रकै कर्मचारी सङ्घसंस्थाले यसलाई ठूलो ‘इस्यु’ बनाएको निगमको भनाइ छ।

निगमको आधिकारिक ट्रेड युनियन निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले घटनाको सत्यतथ्य नआइकन कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाउने विषयमा सङ्गठनको असहमति रहेको बताए।

उनले भने, ‘कर्मचारी साथीहरूले हिजो साँझ कार्यकारी अध्यक्षको कार्यकक्षमा ताला लगाए भन्ने सुनिएको छ। हामीसँग छलफल भएको छैन, ताला लगाउने विषयमा हाम्रो सहमति छैन। कार्यकारी प्रमुखले कर्मचारीलाई अनुचित दबाब दिएको भन्ने आएको छ, सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही हुनुपर्छ भन्ने आम्रो धारणा हो तर तालाबन्दी गरिनु राम्रो होइन, कार्यालय पुगेर छलफल हुन्छ।

Leave a comment

Your email address will not be published.