काठमाडौंको कोटेश्वरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको सांसद विकास कोषको रकमबाट सहमति विपरित भवन निर्माण गरिएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन्।
काठमाडौं महानगरपालिका वडा नं. ३२ श्रृंखला टोलमा गत २०७७ जेष्ठ ४मा सार्वजनिक जग्गामा भवन निर्माण गर्नका लागि जग खन्ने समयमा मात्र टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजलाई उक्त स्थानमा किरियापुत्री भवन बनाउने कुरा थाहा भएको स्थानीयवासीले जनाएका छन्।
टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजले यस्तो किरियापुत्री भवन आवासीय क्षेत्रमा बनाउन मनासिब नहुने र यसले टोलबासीहरुमा नकारात्मक मनोवैज्ञानिक असर पर्न जाने भएकाले सोही समयमा सोही प्रयोजनको लागि भवन निर्माण नहोस् भनी टोल विकास समाजले विरोधस्वरुप जग खन्ने काममा विरोध गरेको जनाएका छन्।
उक्त भवन निर्माण समिति तथा काठमाडौं महानगरपालिका वडा नं. ३२ वडा कार्यालयलाई उक्त भवन किरियापुत्री प्रयोजनको लागि निर्माण नगरियोस् भनी गत २०७७ जेष्ठ ४ मा निवेदन दिइएको भएपनि भवन जवर्जस्ती रुपमा निर्माण गरिएको स्थानीयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सो भवनमा किरियापुत्री नराखी अन्य वैकल्पिक प्रयोजनमा ल्याउन टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजले अपिल गरेको छ।