मध्यरातमा गाउँ लगिँदै गरेकाे सामान कांग्रेस-माओवादीले राेके, प्रहरीलाई बुझाएपछि एमालेसँग झगडा

मतदाता प्रभावित पार्नका लागि बाँड्न लागिएको आशंकामा खोटाङ प्रहरीले प्लाष्टिक टनेल, चामल, जस्तापाता, चाउचाउ, सिलिण्डर लगायतका सामान नियन्त्रणमा लिएको छ ।

दिक्तेल बजारबाट को २ त ९३५४ नम्बरको ट्याक्टरमा राखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडातर्फ ट्याक्टरमा लैजाँदै गरेको ४० थान प्लाष्टिक टनेल, चाउचाउ, चामल, जस्तापाता, ग्यासको सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ ।

एमालेले मतदातालाई बाँड्नका लागि ढुवानी गरिरहेको दाबी गर्दै कांग्रेस र माओवादी केन्द्रनिकट युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको बानाचुङमा ट्याक्टर रोकेर प्रहरीलाई जानकारी गराएको थियो । ट्याक्टरमा पाल ओछ्याएर त्यसमाथि राखिएका सामान अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डीएसपी उमेश लम्सालले बताए ।

प्रहरीका अनुसार ट्याक्टरमा भएका कतिपय सामान बिलसहितका र कतिपय बिलबिनाका छन् । ट्याक्टरमा ढुवानी भइरहेको सामान व्यक्तिगत, संस्थागत वा अन्य कुन प्रयोजनका लागि लागि ढुवानी गरिएको भन्ने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

बरामद भएको सामानबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी फनिन्द्र दाहालले बताए । रातका समयमा बरामद भएको सामानको बारेमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा गठबन्धन र एमालेका उम्मेदवारबीच वादप्रतिवाद भएको जनाइएको छ ।

Leave a comment

Your email address will not be published.