सुरु भयो बजेट माहोल, खर्च अनुमानको मस्यौदा ८ गते तयार हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संसद्को बजेट अधिवेशन डाकेसँगै नयाँ बजेटको माहोल सुरु भएको छ।

योसँगै जेठ ३ गतेदेखि ६ गतेसम्म संसदमा प्रिबजेट छलफल हुनेछ भने ७ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन्।

त्यस्तै जेठ ८ मा व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ।

अर्थ मन्त्रालयका अनुसार जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ। सोही दिन बजेटलाई पनि अन्तिम टुंगो लगाउने तालिका छ। जेठ १३ मा स्रोतपुस्तिका छपाइका लागि प्रेसमा पठाइनेछ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिने योजना छ।

योसँगै आर्थिक वर्ष २०७९/०८० को बजेट जेठ १५ गते दुवै संसदको संयुक्त बैठकमा पेस हुनेछ। त्यसपछि सो बजेट छलफल भएर संसदले पास गर्नुपर्नेछ।

अर्थ मन्त्रालयले विनियोजन विधेयकका सिद्धान्तहरु वैशाख २० गते संसदको दुवै सदनमा पेश गर्ने र प्रि–बजेट छलफल गर्ने योजना बनाएको थियो। तर संसद् अधिवेशन ढिलो गरी बोलाइएकाले अब सोहीअनुसार बजेट छलफल हुने भएको हो।

अर्थ मन्त्रालयको फ्रेमवर्कअनुसार वैशाख ३० मा सार्वजनिक संस्थान र मन्त्रालयको प्रगति विवरण छाप्ने तालिका छ।

१७ खर्ब ४५ अर्बको बजेट सिलिङ

चालू आर्थिक वर्षको लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको छ। अर्थ मन्त्रालयले सोही आसपासमा हुने गरी बजेट तयारी गरिरहेको जनाएको छ।

मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्ष २०७९/०८० मा कुल आर्थिक वृद्धि ९ दशमलव ६ प्रतिशत हुनुपर्ने बताएको छ। जसमा कृषि वन क्षेत्रको ५ दशमलव ६ प्रतिशत, गैरकृषि क्षेत्रको ११ दशमलव २ प्रतिशत, उद्योग क्षेत्रको १३ दशमलव ५ प्रतिशत र सेवा क्षेत्रको १० दशमलव ७ प्रतिशतको लक्ष्य छ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा २० वटा राष्ट्रिय गौरवको आयोजनाको लागि १ खर्ब ६ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने मध्यकालीन खर्च संरचनामा भनिएको छ।

यसमा आयोजनाअनुसारको रकम नै तोकिएको छ। त्यस्तै १६ वटा रुपान्तरणकारी आयोजनामा १ खर्ब ४ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने बताएको छ।

लोकप्रिय कार्यक्रममा अर्थमन्त्रीको दृष्टि

यीलगायतका अन्य आयोजनाहरुको निरन्तरतताको दायित्व समेत छ। त्यसमा अर्थमन्त्री जनार्दन शर्माले नयाँ कार्यक्रमहरु समावेश गरेर लोकप्रिय कार्यक्रम ल्याउने तयारी गरेका छन्।
अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको नेतृत्वमा गठित समितिले बजेट मस्यौदा तयार गरिरहेको छ।

समितिमा सहसचिवहरु चक्रबहादुर बुढा, ईश्वरी अर्याल, महेश आचार्य र बाबुराम सुवेदी छन्। समितिले अर्थमन्त्री शर्मा, अर्थसचिव मधुमरासिनी, राजस्व सचिव कष्णहरि पुस्कर र आर्थिक सल्लाहकार सुरेन्द्र उपे्रतीसँग समन्वय गरिरहेको छ।

यो टोलीले बजेट तयारी अन्तिम चरणमा पुर्याएको ब्रिफिङ अर्थमन्त्रीसमक्ष गरिसकेको मन्त्री शर्माको सचिवालयले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा संघीय सरकारले बजेट कार्यक्रम सार्वजनिक गर्नुपर्छ।

०७२ मा नयाँ संविधान जारी भएपछि आर्थिक वर्ष सुरु हुनुभन्दा १ महिना १५ दिनअघि बजेट कार्यक्रम सार्वजनिक हुँदै आएको छ। त्यसअघि आर्थिक वर्ष सुरु हुनुभन्दा एक दिनअघि अर्थात् असार मसान्तमा बजेट सार्वजनिक गरिन्थ्यो।

Leave a comment

Your email address will not be published.