लुम्बिनीमा देउवाको ‘बडी ल्याङ्ग्वेज’ माथि सामाजिक सञ्जालमा प्रश्न

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६ घण्टे लुम्बिनी भ्रमण सकेर सोमबार अपराह्न स्वदेश फर्के। अन्य बेलाजस्तो मोदीको यसपालिको भ्रमण राष्ट्रिय चर्चाको विषय बनेन।

नेपालमा आम मानिसको चासो स्थानीय चुनावको मतगणनामै देखिएकाले मोदीको लुम्बिनी भ्रमण छायाँमा पर्यो। चुनावले गर्दा मानिसहरुको ध्यान मोदीतर्फ ‘डाइभर्ट’ हुन सकेन। बरु सामाजिक सञ्जालमा अनेक टिप्पणी चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा भारतीय समकक्षी मोदीसँगै कुम जोडेर बस्दाको ‘बडी ल्याङ्ग्वेज’ र आसनलाई लिएर भइरहेको छ।

लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा देउवा र मोदीले बिहान ११ देखि ११ः३० सम्म आधा घण्टा विशेष पूजाआजा गरे। त्यसपछि उनीहरु भारतले निर्माण गर्न लागेको विहारको शिलान्यास तथा भूमी पूजनमा सहभागी भए। त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदी ध्यानमग्न भएको देखिन्छ भने प्रधानमन्त्री देउवा सामान्य नमस्कार समेत नगरी पलेटी कसिरहेको देखिन्छ।

दृष्यमा देउवा निकै थकितजस्तो देखिन्छन्। त्यही दृष्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। उनी घरि माथी तिरे हेर्छन्, घरि तल हेर्छन, घरि उठुँ उठुँ झै गर्छन् अनि घरि लगाएको शुरुवाल मुसार्छन्।

यस्तो लाग्छ प्रधानमन्त्री देउवा निकै तनावमा छन्, कतिबेला कार्यक्रम सकिन्छ र उठौँ झैँ गरी प्रधानमन्त्री यताउति हेरिरहेको देखिन्छ। सामाजिक संजालकर्ता धेरैले देउवालाई ‘अटेरी’, ‘अल्छी’ र ‘सामान्य शिष्टाचार पनि नराखेको’ भन्दै टिप्पणी गरेका छन्। देउवाको पछिल्तिर पत्नी आरजु नमस्कार गर्दै उभिरहेको देखिन्छ।

मोदी निकै फूर्तिसाथ ध्यान र पूजामा संलग्न देखिँदा प्रधानमन्त्री देउवा शारीरिक रुपमा कमजोर देखिन्छन्। यतिसम्म की प्रधानमन्त्री देउवालाई मोदीले नै बसेको भुईँबाट उठाइदिएको देखिन्छ।

प्रधानमन्त्री देउवा बृद्धावस्थामा छन्। उनी ७५ वर्षमा हिँडिरहेका छन्। मोदीभन्दा देउवा चार वर्षले मात्रै जेठा छन्। यस खालका उच्चस्तरीय भ्रमणमा प्रधानमन्त्रीलाई कसैले सहारा दिनुपर्ने अवस्था आएको देखिन्छ।

मोदीसँग औपचारिक भेटवार्तापछि प्रधानमन्त्री देउवा करिब ३ बजे लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मोदीसँगै बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्न पुगे। त्यसक्रममा देउवाले पहिले भाषण गरे र मञ्चमा आफ्नो आसनमा बस्न गए। मोदीले भाषण गर्न थालेपछि देउवा पटक—पटक निदाउन थालेको देखिन्छ। मञ्चमा बस्दा देउवाले हाई गरिरहेको देखिन्छ। यतिसम्म कि देउवा निदाएर हाई काढेको तस्वीर अहिले सञ्जालमा भाइरल भइरहेको छ।

यसखालका कूटनीतिक वार्ता, छलफल र अन्तर्क्रियामा कुराकानीका मुख्य विषयवस्तु बाहेक बडी ल्याङग्वेज, आसन, पहिरन र खानपिनका शैलीको पनि उत्तिकै ख्याल राख्ने गरिन्छ। तर, भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा नेपालका प्रधानमन्त्रीको बडी ल्याङग्वेज र आसनका कुरामा आलोचना भएको छ।

यसखालका भ्रमणमा कुटनीतिक तौरतरिका र अभ्यासलाई हेर्ने मुख्य जिम्मा परराष्ट्र मन्त्रालयको हो। मोदीको भ्रमणमा परराष्ट्रमन्त्री लगायत मन्त्रालयका एकदर्जन कर्मचारी खटिएका थिए। तर, भ्रमणमा प्रधानमन्त्रीलाई बडी ल्याङग्वेज, आसन, पहिरन जस्ता बिषयमा राम्रोसँग ब्रिफिङ नगरेको देखिन्छ।

सोमबार बिहान १०ः४० बजे लुम्बिनीस्थित हेलिप्याडमा उत्रेका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री देउवा आफैं पुगे। देउवासँगै सरकारका ८ जना मन्त्री र पत्नी आरजु पनि लामबद्ध भएको देखियो।

डेढ महिनाअघि प्रधानमन्त्री भारत जाँदा त्यहाँका रक्षा राज्यमन्त्रीले स्वागत गरेका थिए। तर, मोदीलाई स्वागत र बिदाई गर्न देउवा आफैं हेलिप्याडमै पुगे। यसलाई चाहिँ सम्बन्ध विस्तार गर्न देखाइएको ‘पोजिटिभ जेस्चर’ मान्न सकिन्छ।

किनकि, यसरी समकक्षीलाई लिन समकक्षी नै पुग्दा त्यसले त्यो देशसँगको सम्बन्धलाई उच्च महत्व दिएको सन्देश प्रवाह हुन्छ। त्यसले एकातिर आम जनताको तहमा सकारात्मक छाप छोड्छ भने अर्कोतिर राजनीतिक तहमा सम्बन्ध सुदृढ हुन्छ।

प्रधानमन्त्री आफैंले समकक्षीलाई स्वागत गर्नु प्रचलित कूटनीतिक अभ्यासभित्रै पर्छ। भारत जाँदा नेपालका प्रधानमन्त्रीलाई पनि विमानस्थलमै समकक्षीले स्वागत गरेका उदाहरण छन्। जस्तो सन् २००७ मा नयाँ दिल्ली गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैं इन्दिरा गान्धी विमानस्थलमा स्वागत गरेका थिए।

Leave a comment

Your email address will not be published.