भरतपुरमा जगन्नाथको मत घट्दै, रेनुलाई फाइदा

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मतको दर घट्दा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई फाइदा पुगेको छ।

कांग्रेसबाट विद्रोह गरेका जगन्नाथले पाउने मतको दर घट्दा रेनुको अग्रता ६ हजार नजिक पुगेको छ।

शनिबार साढे ३ बजे ७७ हजार ३ सय ८६ मत गणना हुँदा रेनुले अग्रता बढाएर ५ हजार ९ सय १ पुर्‍याएकी हुन्।

वडा १ देखि १४ सम्मको मत गणना सकिएको छ। अहिले वडा १५ र १६ को जारी छ।

रेनुले २९ हजार ९ सय ९४ ल्याएर अग्रता फराकिलो बनाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ९३ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै रेनुविरुद्ध बागी उम्मेदवारी दिएका पोडेलले १० हजार ५ सय १४ मत ल्याएका छन्।

उपप्रमुखमा गठबन्धनकै चित्रसेन अधिकारले १३ हजारको अग्रता बनाएका छन्।

एमाले–राप्रपाको साझा उम्मेदवार हिमला गुरुङले १८ हजार ६ सय ६६ मत ल्याएर अधिकारीलाई पछ्याइरहेकी छन्।
भरतपुरमा २९ वडा छन्।

Leave a comment

Your email address will not be published.