झारफुक गर्दा महिलाको मृत्यु : धामीसहित तीनजना जेल चलान, ५ जना धरौटीमा छुटे

कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु घटनाका ३ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

गत वैशाख ३ गते भूत भगाउने भन्दै धामीझाँक्रीको कुटाइबाट रञ्चुलाको ज्यान गएको थियो।

यस घटनामा हत्या आरोपमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको थियो।

तीमध्ये धामीझाक्रीका नाइके भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट, कमला साउद र जानकी घटाललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ।

यस्तै, आरोपीमध्येका ५ जना एक-एक लाख धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डीएसपी चक्रबहादुर शाहले बताए।

धरौटीमा छुट्नेमा भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, गौरीदेवी साउद, कुबेर सिंह साउद, चक्र सिंह साउद र जयदेव सिंह साउद रहेका छन्। आरोपीमध्येकी एक चन्चला साउद भने फरार छिन्।

Leave a comment

Your email address will not be published.