नेपाली कथानक चलचित्र ‘प्रकाश’को टिजर युट्युबमा रिलिज गरिएको छ। युट्युब बाहिर भने गत बैशाख १ गतेबाटै टिजर सार्वजनिक गरिएको थियो। फिल्मको टिजर हलमा फिल्मको बिचमा रिलिज हुँदै आएको थियो।
यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शन हुँदै छ। सार्वजनिक टिजरमा फिल्मका शीर्ष कलाकार दिया मास्के र प्रदीप खड्कालाई देखाइएको छ।
कर्णालीको परिवेश सुहाउँदो पहिरन, संवाद र शैलीमा प्रस्तुत भएका दिया र प्रदीपक आकर्षक देखिएका छन्। जनयुद्धका कारण बेपत्ता आफ्ना श्रीमान् र पितालाई पर्खिरहेका परिवारको कथामा बनेको फिल्मले सरकारी स्कुलमा जागिर खान एक युवाले गरेको संघर्ष पनि देखाउने छ।
विकास सुवेदीको लेखनमा तयार भएको यो चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रमा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारले अभिनय गरेका छन्।
बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। जीवन थापाको सम्पादन रहेको यो चलचित्रमा महेन्द्र अधिकारीले लगानी गरेका हुन्।