संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने भोटखोला–४ की मनिषा गुरुङ पक्राउ परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गर्दा प्रहरीले मनिषालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए।
अरुणोदय माध्यमिक लिङ्गम कक्षा १२ का विधार्थी अनुषा गुरुङको सट्टामा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
नक्कली परीक्षार्थी मनिषालाई परीक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।
पक्राउ परेकी परीक्षार्थीलाई परीक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख केशव भट्टराईले बताए।