५३ प्रतिशत खनियो नागढुंगा सुरुङमार्ग, यस्तो छ संरचनागत प्रगति

नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाले प्रगति विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक विवरणअनुसार कुल ५ हजार ४ सय ९९ मिटरमध्ये २ हजार ९ सय १ मिटर खनिसकिएको हो।

यो भनेको कुल ५३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। परियोजनाअनुसार पूर्वबाट ६६० मिटर र पश्चिमबाट ६२३ मिटर गरी १ हजार २ सय ८३ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न भएको छ। मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटरको छ।

त्यस्तै दुई हजार ५ सय ५७ मिटरको इभ्याकुएसन सुरुङमा पूर्वबाट ८३८ मिटर र पश्चिमबाट ६०६ मिटर गरी १ हजार ४ सय ४४ मिटर खन्ने काम सकिएको छ। यता वर्किङ अडिटतर्फ १२६ मिटरमा पश्चिमबाट १२६ मिटर नै सकिसकेको छ। क्रस प्यासेजतर्फ १२८ मिटरमध्ये पूर्वबाट ३२ मिटर र पश्चिमबाट १६ मिटर गरी ४८ मिटर सम्पन्न भएको आयोजनाले जनाएको छ।

समग्रमा ५ हजार ४ सय ९९ मिटरमध्ये पूर्वबाट १ हजार ५ सय ३० मिटर र पश्चिमबाट १ हजार ३ सय ७१ मिटर गरी २ हजार ९ सय १ मिटर सुरुङ खन्ने काम सकिएको छ।

यो सुरुङमार्गमा ४३१ मिटर कन्क्रिट लाइनिङ रहेको छ।

त्यस्तै संरचनागत प्रगतिमा तीनवटा अन्डरपासमध्ये २ वटा सकिएको छ। त्यस्तै ४ वटा बक्स कल्भर्टको निर्माण पनि सकिएको छ। एक ओभरपासमध्ये त्यो पनि सम्पन्न भएको आयोजनाले जनाएको छ। यसका तीनवटा पुल सम्पन्न भएको छ भने एउटा फ्लाईओभरको निर्माण भइरहेको छ।

यसमा फाउन्डेसन र ल्यान्ड कम्पेन्सेसनका काम भइरहेको आयोजनाले जनाएको छ। यसरी १२ वटा संरचनामध्ये १० वटा सम्पन्न भएको आयोजनाको भनाइ छ।

Leave a comment

Your email address will not be published.