रामेछापको टोकरपुरमा रहेको कण्ठेश्वर माविको करिब १३ लाख रुपैयाँ हिनामिना गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रअसहित तीनजना विरुद्ध मुद्दा दायर गरेको छ।
विद्यालयको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानाध्यापक रामबाबु कँडेलसहित तीन जनाविरूद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दर्ता गरेको हो।
प्रअ कँडेल, सहायक प्रधानाध्यापक रामलाल कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगरविरूद्ध मुद्दा दर्ता गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
उनीहरूले विद्यालय भवन निर्माण गर्दा विद्यालय कोषको रकम आफूखुसी झिकेर हिनामिना गरेको आरोप पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरूले विद्यालयको १२ लाख ८४ हजार १२२ रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम १२ लाख ८४ हजार १२२ रुपैयाँ जरिवाना तथा कैद सजायको माग दाबी अभियोग पत्रमा गरिएको छ।