गठबन्धनलाई देउवाको आश्वासन : राष्ट्रहितविपरीतका कुनै सम्झौतामा हस्ताक्षर गर्दिनँ

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितविपरीतका कुनै पनि विषयमा सम्झौता नगर्ने बताएका छन्।

बुधबार बिहान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आश्वासन दिँदै देउवाले त्यस्तो बताएका हुन्।

अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनर प्रोग्राम (एसपीपी) प्रस्तावमा हस्ताक्षर गर्नेगरी प्रधानमन्त्री देउवा सकारात्मक रहेको समाचार सार्वजनिक भएपछि गठबन्धनका शीर्ष नेताहरुले बालुवाटार पुगेर यसबारे धारणा मागेका थिए।

छलफलमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

‘एसपीपीका विषयमा बिहान प्रधानमन्त्रीलाई गठबन्धनका चार नेताले भेटेका थियौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा भने,‘त्यस्तो राष्ट्रिय हितविपरीतको कुनै सम्झौतामा हस्ताक्षर गरिदैँन भन्नुभयो।’

पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले सम्झौता गर्दिनँ भने पनि त्यसैमा ढुक्क नहुने बताएका छन्।

प्रधानमन्त्री छिट्टै अमेरिका भ्रमणमा जाँदैछन्, अमेरिकी सेनाले एसपीपी मस्यौदामा हस्ताक्षर गर्न ताकेता गरिरहेको छ।

‘हामी चनाखो भएर वाच गर्नुपर्छ,’ नेपालले बैठकमा राखेको धारणा उधृत गर्दै एक नेताले नेपालखबरसँग भने।

तीन दिने नेपाल भ्रमणमा गत विहीबार आएका युएस आर्मी प्यासिफिक कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको एसपीपीमा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका थिए।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको एसपीपी सम्झौताको मस्यौदा नेपालखबरले सोमबार सार्वजनिक गरेको हो।

१० धारा, ६ पृष्ठमा समेटिएको मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ।

नेपाली सेनासँग रणनीतिक सम्बन्ध विस्तार गर्ने भन्दै अमेरिकी सेनाले बढाएको प्रस्तावप्रति विज्ञहरुले चिन्ता जनाएका छन्।

Leave a comment

Your email address will not be published.