बालेनले भनेअनुसार काठमाडौंका सबै तार अन्डरग्राउन्ड गर्न कति सम्भव ?

काठमाडौंको नागपोखरी क्षेत्रमा गत आइतबार बिजुलीको तार जलेर आगलागी भयो । तारको पोलमा बिजुलीको तार ‘सट’ भएपछि आगलागी भएको थियो । समयमै आगलागी नियन्त्रणमा लिइएकाले अन्यत्र फैलिएन र धेरै क्षति हुन पाएन । यद्यपि, बिजुलीको पोलमा जेलिएका तारहरूको पुनः मर्मत गर्नुपर्‍यो ।

महानगरमा तार जलेर आगलागी भएको यो घटना पहिलो भने होइन । यसअघि पनि आगलागीका थुप्रै घटनाहरू भएका छन् । धेरै क्षति भएका उदाहरण पनि छन् । यसरी तारहरू जल्दा धेरै दुर्घटना हुने गरेका छन् । मानिस तथा पशुपन्छीलाई करेन्ट लाग्ने समस्या पनि उस्तै छ ।

शहरमा दृश्य प्रदूषण गराइरहेका तार, अनि त्यसमाथि निरन्तर भइरहने अप्रिय घटना बढिरहेको थियो । यसको समाधान गर्नुपर्ने दबाब विद्युत् प्राधिकरणलाई पर्‍यो । त्यसैले तार जलेर आगलागीका घटना न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरणले तार ‘अन्डरग्राउन्ड’ गर्ने निर्णय केही वर्षअघि नै गरेको थियो । तर, त्यसको काम चुस्त रूपमा अघि बढेको देखिएन ।

अहिले फेरि तारलाई भूमिगत गर्ने बहस महानगरभित्र छेडिएको छ । विद्युत् प्राधिकरणले योजना बनाएको करिब लामो समयपछि काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहले तार भूमिगतको प्रसंग कोट्याए । कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले नेपाल विद्युत् प्राधिकरणसँग महानगरका सबै तारहरू भूमिगत गर्न सहकार्य गर्ने प्रतिबद्धता नै जनाए । अब तार भूमिगत गर्ने योजनालाई अघि बढाउन सहयोग गर्ने छाँट महानगरले देखाएको छ ।

कसरी गरिन्छ तार अन्डरग्राउन्ड ?

करिब दुई वर्षअघि नेपाल विद्युत् प्राधिकरणले भएका केबुल र विद्युत्‌का तारहरू अन्डरग्राउन्ड गर्ने कामको थालनी गरेको थियो । विभिन्न ‘रुट’हरूमा सम्झौताहरू गरेर काम सुरु भएको थियो । केही ठाउँमा भने तार बिछ्याउने काम पूरा पनि भइसकेको छ । लैनचौर-महाराजगञ्ज क्षेत्रमा तार राख्ने काम सम्पन्न भइसकेको छ ।

तर कसरी गरिन्छ त तारलाई भूमिगत ?

काठमाडौँ (पूर्व तथा दक्षिण) आयोजना प्रमुख सुमन श्रेष्ठका अनुसार तार भूमिगत गर्न पहिला ‘इन्सुलेटेड’ पाइप राखिन्छ । जुन पाइपबाट ‘करेन्ट’ पास हुँदैन । त्यसभित्र अन्य पाइपहरू राखिन्छ । ‘एचटीपी’ पाइपहरूलाई इन्सुलेटेड पाइपले सुरक्षा दिएको हुन्छ

एचटीपी पाइपभित्र पनि तीनवटा तार छुट्टाछुट्टै अटाउन सकिन्छ । जसमा विभिन्न प्रकारका केबुल वा तारहरू राख्न सकिने श्रेष्ठ बताउँछन् । जस्तो, इन्टरनेट, सूचना सेवा, टेलिभिजनको अर्थात् ‘अप्टिकल फाइबर’का लागि अर्को पाइप राखिएको हुन्छ । त्यस्तै, विद्युत्‌को तारका लागि छुट्टै पाइप र अन्य तारका लागि खाली पाइप पनि राखिएको हुन्छ । यसरी ५-६ वटा एचटीपी पाइप इन्सुलेटेड पाइपभित्र हुन्छ ।

तर, तार अन्डरग्राउन्ड गर्ने गरी सडक डिजाइन नगरिएकाले समस्या उत्पन्न भएको श्रेष्ठको भनाइ छ । तार लाने अलग बाटो नभएकाले ढल र खानेपानीको पाइपसँगै तार राख्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । ‘अलगै कोरिडोर नभएर एउटै बाटोहुँदै तार लगिएको छ । सडकभन्दा डेढ मिटरमुनि तार राख्नेगरी डिजाइन गरिएको छ । खानेपानी र ढलको बाटो भने ‘युटिलिटी मेजर’ गरेर पत्ता लगाइन्छ । अनि तिनलाई असर नगर्ने गरी तार लगिन्छ,’ श्रेष्ठले भने ।

उनका अनुसार सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती नहोस् भनेर सुरुमा ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने पनि भनिएको थियो । यो प्रविधि प्रयोग गर्दा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै तारसहितको पाइप हाल्न सकिन्छ । तर, अधिकांश ठाउँमा यो प्रविधिको प्रयोग सम्भव नभएकाले सडक खन्न परेको हो ।

यसरी तार अन्डरग्राउन्ड गरेपछि घरघरमा सुविधा पुर्‍याउन भने चार्ज हाल्नुपर्ने हुन्छ । साँघुरो गल्लीहरूमा अन्डरग्राउन्ड गर्न मिल्दैन । जहाँसम्म भूमिगत हुन्छ । भूमिगत तरिकाले लग्ने र नसकिने ठाँउमा हालैको तरिकाबाट तार लगिने योजना पनि श्रेष्ठले सुनाए ।

यसरी तार अन्डरग्राउन्ड गरेपछि घरघरमा सुविधा पुर्‍याउन भने चार्ज हाल्नुपर्ने हुन्छ । साँघुरो गल्लीहरूमा अन्डरग्राउन्ड गर्न मिल्दैन । जहाँसम्म भूमिगत हुन्छ । भूमिगत तरिकाले लग्ने र नसकिने ठाँउमा हालैको तरिकाबाट तार लगिने योजना पनि श्रेष्ठले सुनाए ।

डेढ वर्षमा महानगरमा तार अन्डरग्राउन्ड गर्न कत्तिको सम्भव ?

तार जडान गर्ने योजना मुख्यत: विद्युत् प्राधिकरणकै भए पनि धेरैवटा निकाय र विभागमा यसको समन्वय आवश्यक छ । पर्याप्त समन्वय र सहकार्य नभएकाले काहीँकाहीँबाहेक धेरै ठाउँमा काम रोकिएको बताउँछन् नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ।

घिसिङका अनुसार सडक विभागबाट सहमति भएको ठाउँमा काम रोकिएको छैन । सहमति भएको ठाउँमा काम पनि पूरा भएको छ । तर, सहमति नभएको ठाउँमा भूमिगत गर्ने कार्य रोकिएको हो ।

‘चारवटा सम्झौताहरू भएअनुसार काम अघि बढेको पनि हो । डिजाइन पूरा भएर पर्याप्त सामान पनि छ तर काम भने चाहेअनुसारको भएको छैन । महानगरले यसअघि प्राधिकरणलाई सहयोग गरेको छैन । अन्य सम्बन्धित विभागले पनि समन्वय गरेको छैन,’ घिसिङ सम्भावना देखाउँदै भन्छन्, ‘उचित सहकार्य भएमा अबको डेढ वर्षमा हैन, एकै वर्षमा पूरा गर्न सकिन्छ । तर, यहाँ काम गर्नभन्दा धेरै समन्वय गर्न चुनौती धेरै छ ।’

Leave a comment

Your email address will not be published.