किशोरी बलात्कारका अभियुक्त जोगाउन महान्यायाधिवक्ताकै दबाब? संसदमा उठ्यो प्रश्न

एकजना किशोरीमाथि बलात्कारका अभियुक्तको मुद्दा कमजोर बनाउन महान्यायधिवक्ताको कार्यालयले दबाब दिएको भन्दै संसदमा प्रश्न उठेको छ।

नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले ललितपुर इमाडोलका सुशील चटौतले आफ्नो घरमा राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालयबाट सरकारी वकिललाई दबाब आएको बताएका हुन्।

उनले दबाब नमान्ने सरकारी वकिललाई सरुवा गरिएकोमा आपत्ति जनाउँदै यसबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन्।

देशको फौजदारी न्याय प्रणालीको मुख्य अभिभावक बन्नुपर्ने थलो महान्यायाधिवक्ता कार्यालयबाट सरकारी वकिलहरूलाई प्रमाण नष्ट गर्न दबाब गएको रहेछ’, उनले भने, ‘महान्यायाधिवक्ताका स्वकीय सचिव बिन्दु रावल र सचिवालयका हरिप्रसादजीले संगीता थोकर लगायत सरकारी वकिलहरूलाई बलात्कारको प्रमाणका रुपमा रहेको भिडिओ मेटाउन दबाब दिएको खुलेको छ। त्यो मुद्दा कमजोर बनाउन दिइएको छ। त्यो कुरा नमानिँदा हिजो मात्रै उनलाई तत्कालै सरुवा गरेर काठमाडौंबाट हटाइएको छ।’

महान्यायाधिवक्ताको कार्यालयबाटै अनुसन्धान प्रभावित गर्ने, दबाबमा राख्ने र दबाब नमान्दा सरुवासम्म गर्ने परिस्थिति निर्माण भएकोमा उनले आपत्ति जनाए।

राज्य नै शासक वर्ग नै सत्तापक्ष नै यो ढंगले उत्रिन्छ भने हाम्रो भन्नु केही छैन’, उनले भने, ‘होइन भने तत्काल अनुसन्धान गरेर सत्यतथ्य के हो? पत्ता लागोस्। यो देशमा विधि, कानून मानिन्छ भने महान्यायाधिवक्ता या अरुले पनि उन्मुक्ति पाउनु हुँदैन। यो विषयमा गम्भीरतापूर्वक छानविन होस्।’

उनले महिलामाथिको शोषण, दमन र विभेद बढिरहेको पनि बताएका छन्। महिलाहरूमाथि यौनजन्य हिंसा बढिरहेको उल्लेख गर्दै उनले प्रभावकारी अनुसन्धान हुन नसकेको गुनासो गरे।

Leave a comment

Your email address will not be published.