उनले स्कुल नटेकेको ६ महिना नाघ्यो । देशको राजधानी काठमाडौंबाट पुरानै थातथलो गुल्मी फर्केको महिनौँ भइसक्यो । पुतलीबजारस्थित अढाइतले घरको भुइँतलाकाे सटरमा उनको बसाइ कम छटपटीपूर्ण छैन ।
युट्युबरले रातारात भाइरल गराएका बालक सचिन परियार शारीरिक रूपमा त अस्वस्थ थिए नै, अहिले छिनमै भनेका कुरा छिनमै बिर्सने समस्यासमेत उनमा देखिन थालेकाे छ । केही महिनाअघि निमोनिया भएर हप्तौँ थला परेका थिए । अहिले नशासम्बन्धी समस्यासँग जुधिरहेका छन् । उनकाे वजन वृद्धि भएकाे छ तर उचाइ भने बढिरहेकाे छैन ।
औषधि खाइरहेका सचिन घरिघरि बाहिर खेल्न निस्कन खोज्छन् तर अभिभावकले उनलाई रोक्छन् । सचिनका माइलाबुबा महेन्द्र परियारका अनुसार, बच्चालाई अन्टसन्ट बोल्न लगाएर युट्युबरले भिडियो पोस्ट गरिदेलान् भनेर परिवारले उनलाई छेकबार गर्नुपरेको हो । ‘सोमबार पनि हामी घरमा नभएका बेला केही युट्युबर आएर उसको भिडियो बनाई लगेछन्’, महेन्द्रले भने, ‘यसले (सचिनले) के-के बोलेको छ, सबै हाल्दिन्छन् होला ।’
केही दिनअघि सचिनको भिडियो खिचेर माग्दै हिँडेको भनी कसैले पोस्ट गरिदिएको सचिनका बुबा तेजेन्द्रले बताए । उनले भने, ‘बच्चा हो, माग्यो पनि होला तर बाउआमाले माग्ने बनाएको भनी हामीमाथि गालीगलौज आइरहेको छ ।’
रेसुङ्गा नगरपालिका-१, पुतलीबजारस्थित घरको सटरवाला कोठामा सचिन आफ्नी कान्छी आमा, बुबा र भाइबहिनीका साथ बसिरहेका छन् । कुनै बेला काठमाडौंको नाम चलेको बोर्डिङ स्कुलमा पढ्ने सचिनका लागि अब त्यो सब सपनासरह भएको छ । पढ्न त टाढाकै कुरा भयो, उनी आफ्नो मर्जीले कोठाबाट निस्किनसमेत पाउँदैनन् ।
सञ्चारकर्मी कृष्ण कँडेलले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने गरी सचिनलाई गाैशालास्थित हिमाली इङ्लिस बोर्डिङको जिम्मा लगाएका थिए । तर, ६ महिनासम्म अनुपस्थित भएपछि बोर्डिङले सचिनलाई ‘रेस्टिकेट’ गरिदिएको छ । सचिन मात्र होइन, सोही बोर्डिङमा होस्टेल बसेर पढ्ने उनकी बहिनी सोनियाको समेत पढाइ छुटेको छ । ‘सचिनका बुबा अपरिपक्व र लापर्वाह हुनुहुँदो रहेछ’, स्कुलका प्रिन्सिपल नेत्र उपाध्यायले भने, ‘हामीले पढाउन खोजेकै हौँ तर उहाँ आफैँले बारम्बार छोराको पढाइमा बाधा गर्नुभयो ।’
तेजेन्द्रले हप्तौँ, महिनौँसम्म मेला, महोत्सवमा डुलाउँदा सचिनको पढाइ खस्किएको उपाध्याय बताउँछन् । उनका अनुसार, नर्सरीमा सचिन प्रथम भएका थिए । एलकेजीमा उनले मध्यम अंक ल्याए । यूकेजीमा त केही विषय पास नै गर्न सकेनन् । ‘एकपल्ट होइन, दुईपल्ट होइन । बारम्बार तेजेन्द्रजीले दुई दिनमा ल्याइदिन्छु भन्दै सचिनलाई लानुहुन्थ्यो अनि हप्ता दिनपछि ल्याइदिनुहुन्थ्यो’, उपाध्यायले भने, ‘परीक्षामा समेत सचिन उपस्थित हुन पाएनन् । एक हदसम्म त हामीले सहेकै हौँ । तर, स्कुलले सधैँ आफ्नो नियम तोडिएको हेर्न सक्दैन ।’
गत पुस १८ देखि सचिन स्कुल गएका छैनन् । लगातार अनुपस्थित भएपछि उनको कोटामा अर्का एक बालकलाई पढाउन लागिएको उपाध्यायले बताए । होस्टेलका बच्चालाई जुन बेला पायो, त्यही बेला नलैजानुस् भन्दा सचिनका बुबाले गालीगलौज गर्ने गरेको वार्डेन दीपु परियारले बताए ।
१३ वर्ष भइसकेका सचिनलाई गुल्मी फर्काए पनि उनका बुबाले स्कुल भर्ना गराएका छैनन् । माग्दै हिँडेको भिडियो भाइरल बनेपछि फेरि युट्युबरहरू सचिनको खोजीमा जुटेका छन् । विद्यालयमा गएर सोधीखोजी गर्न थालेका छन् । अनि सचिनका बुबा तेजेन्द्रचाहिँ छोराका लागि केही चन्दा संकलन भएमा काठमाडौं फर्किने र कुनै स्कुलमा भर्ना गरिदिने योजनामा छन् । यसरी बालक सचिन धेरैका धेरैखाले स्वार्थमा फसेका छन् ।
मामाघर बसेर पढिरहेका थिए
नाबालक छोराछोरीलाई छाडी सचिनकी आमा दोस्रो विवाह गरेर गइन् । बुबा तेजेन्द्रले पनि दोस्रो विवाह गरे । अनि मावलीले सचिनलाई आफैँसँग राखेर पढाउन थाले । उनको मावली बाग्लुङको गल्कोट हाे । त्यहाँको गल्कोट माविमा सचिन २ कक्षामा पढ्दै थिए । उनको गाउँचाहिँ गुल्मीकै मुसिकोट नगरपालिका– ९, ददल्का हो । तर, बुबा तेजेन्द्र पुतलीबजारमा टेलर खोलेर बसेकाले छुट्टी हुँदा सचिन उतै जान्थे ।
लकडाउनका कारण २०७७ सालको सुरुवातमा स्कुल बन्द थियो । उनी तम्घास गएका थिए । एक दिन अर्घाखाँची पार्कमा खेलिरहेका उनीसित छोटो कुराकानी गरी कसैले भिडियो टिकटकमा हालिदियो । आकर्षक बोल्ने, झट्टै जवाफ दिने सचिनको शैली धेरैले रुचाए । अनि पहिलोपल्ट उनको अन्तर्वार्ता ब्लु स्काई टीभी र लेकसाइड नामका युट्युब च्यानलले लिए । भिडियो भाइरल भयो ।
यसपछि अधिकांश युट्युबरको ध्यान सचिनतिर गयो । रातारात उनलाई कमेडियन, गायक बनाइयो । बुबा तेजेन्द्र उनलाई लिएर काठमाडौं आए । सचिनलाई गल्कोटको स्कुल छोडाए । सञ्चारकर्मी मोहन बस्नेतको पहलमा सचिनलाई लोकसंगीतसम्बन्धी कार्यक्रम ‘इन्द्रेणी’मा लगियो । त्यही कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले चन्दा उठाएर पढाइदिने भए । अनि हिमाली इङ्लिस बोर्डिङमा भर्ना गराइयो ।