युट्युबमा उचालिएर युट्युबमै पछारिएका ‘भाइरल’हरू

यसअघि हामीले रातारात सेलेब्रिटी बनाइएका गुल्मीका एक बालकबारे रिपोर्टिङ गर्‍यौँ । भाइरल भएलगत्तै काठमाडौंको नाम चलेको बोर्डिङमा भर्ना पाएका उनी दुई वर्ष बित्दा नबित्दै सडकमै पुर्‍याइएका छन् । उनको पढाइ छुटेको छ । आफ्नो खुसीले साथीभाइसित खेल्न पाउँदैनन् । खानलाउनै धौधौसाथ बाँचिरहेका छन् । अब हामी केही यस्ता पात्रबारे रिपोर्टिङ गर्दैछौँ, जाे युट्युबमा रातारात भाइरल बनेर फेरि युट्युबरकै सिकार बन्न पुगे ।

तीन वर्षअघि पुण्य गौतमको मूल कर्म राजनीति थियो । यसबाहेक बेलाबखत अखबारहरूमा लेख लेख्थे । टीभी, रेडियोमा राजनीतिक अन्तर्वार्ता दिन्थे । पहिलोपल्ट एमालेमा प्रवेश गर्नुअघि उनी नेकपा मालेमा पोलिटब्युरो सदस्य थिए । केन्द्रीय सदस्य पाइने आशामा उनी मालेबाट एमाले छिरे ।

केही महिनालगत्तै एमाले र माओवादी मिलेर देशकै ठूलो नेपाल कम्युनिस्ट पार्टी बन्यो । सुरुमा उनी नेकपाको केन्द्रीय कमिटीमा मनोनीत भए । बधाई खाइसक्न नपाउँदै उनको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइयो । र, पेण्डुलम बने ।

त्यसपछि उनलाई ‘भाइरल’ हुने झोँक चल्यो । सुरुमा आफैँ युट्युबर बोलाएर विश्लेषकका रूपमा राजनीतिक विषयमा टिप्पणी गर्न थाले । तर, राजनीतिक विषयमा बहस गर्न सक्ने युट्युबर नभेटेपछि पुण्यले जुक्ति लगाए, जुनसुकै विषयमा विश्लेषण गरिदिने ।

विस्तारै उनी भाइरल भएका विषयमाथि टिप्पणी गर्दै अघि बढे । सुरुसुरुमा आफैँ युट्युबरकहाँ धाए । बोल्न माहिर भएकाले पछिपछि पुण्य नै युट्युबरकाे खाेजीमा परे । निकै छोटो समयमा उनी ‘भाइरल म्यान’ कहलिए । पुण्यले यस्ता दिनहरू पनि गुजारे, जति बेला उनी बिहानदेखि राति अबेरसम्म युट्युबरलाई अन्तर्वार्ता दिइरहेका हुन्थे । पछि तिनै युट्युबरले उनलाई चन्दा उठाएर समाजसेवा गर्ने ‘अभियन्ता’ बनाए । हिराेझैँ बनाए । युट्युबरले उनकाे ‘पाेस्टर’ खुबै बेचे ।

केही दिनपछि तिनै युट्युबर मिलेर पुण्यलाई भकुरेको भिडियो पनि भाइरल भयो । कुनै बेला टीभीको राजनीतिक कार्यक्रममा गएर सैद्धान्तिक बहस गर्ने पुण्य कालान्तरमा युट्युबरका अपमानजनक प्रश्नमा जवाफ दिँदै गरेका देखिए । युट्युबरले खासै भाउ दिन छाेडेपछि अचेल उनी टिकटकतिर रमाउन थालेका छन् ।

केही साताअघि उनले राजनीतिक दल पनि बदलेका छन् । माधव नेपाल नेतृत्वकाे एकीकृत समाजवादी छाेडेर एमालेमै फर्केका छन् । र, युट्युबमा पहिलेजसरी सस्ताेगरी नदेखिने निचाेडमा पुगेका छन् । ‘सबै युट्युबर खराब छन् म भन्दिनँ तर मेरो राजनीतिक करिअरमा चाहिँ युट्युबका कारण केही धक्का लागेको छ’, उनी स्वीकार्छन्, ‘आर्थिक रूपमा युट्युबकै कारण मैले टिकटकबाट आर्जन गरिरहेको छु ।’ मूलधारका मिडियाकाे निषेधमा पर्दा त्यसको असर आफ्नो राजनीतिक करिअरमा पर्ने भएकाले आगामी दिनमा जुनसुकै विषयमा बाेल्न छाड्ने उनले बताए ।

प्राध्यापक डाक्टर सुरेन्द्र केसी नेपालकाे कम्युनिस्ट आन्दोलन र यसको इतिहासमा पीएचडी गरेका प्राज्ञ हुन् । त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राेफेसर केसीले लेखेका पुस्तक पढेर थुप्रै नेता जन्मिए । राजनीतिक विषयमा गहिरो ज्ञान राख्ने उनलाई कुनै बेला मूलधारका मिडियाले खुबै प्राथमिकता दिन्थे । उनका लेख अखबारहरूले किनेर छाप्थे ।

डा. केसी वामपन्थी आन्दोलनका अध्येता हुन् । तर तत्कालीन समयमा टीयूको भीसी हुन राजा ज्ञानेन्द्रको पक्षमा उभिएर उनले आफ्नाे पहिचानमा हिलाे छ्यापेका थिए । नयाँ व्यवस्थामा पनि उनले राजनीतिक नियुक्तिका लागि बारम्बार प्रयास गरे । यसका लागि कहिले केपी ओली त कहिले प्रचण्डको नजिक भए । तर, न उनी राजाकालीन टीयूमा भीसी हुन पाए, न त गणतन्त्रमा राजदूत नै बन्न सके ।

त्यसपछि उनी युट्युबमार्फत निराशा व्यक्त गर्न थाले । सुरुसुरुमा उनले नेताहरूको विरोध गरे । नेताबाट वाक्क भएका जनताले उनका ‘कुण्ठा’ खुबै रूचाए । उनले बोल्यो कि धेरै भ्युज आउने भएकाले युट्युबरले उनलाई पछ्याए । युट्युबमा अन्तर्वार्ता दिएर भ्याइ नभ्याइ हुन्थ्याे उनलाई ।

आलोचनाका नाममा नेताहरूमाथि उनले मिथ्या आरोप लगाए । गालीगलौजपूर्ण शब्दको प्रयोग गरे । सुरुमा राजनीतिक विश्लेषकका रूपमा ख्याति कमाएका डा. केसीले पछिपछि त जुनकुनै विषयमा टिप्पणी गर्न थाले । यसरी एक वाम बौद्धिक, वामपन्थी चिन्तक, नेपाली कम्युनिस्ट आन्दोलनका स्रोतव्यक्ति डा. केसी मूलधारका मिडियाले नपत्याउने स्तरमा पुगे । सँगै बौद्धिक जमातले पनि उनलाई ‘भाउ’ दिन छोड्यो ।

उनले थप निराशा ओकल्न थाले । युट्युबमा पनि अनुहार बिकुञ्जेल युट्युबरले उनलाई पछ्याए । अनि छोडिदिए । डा. केसीचाहिँ युट्युबमार्फत आफू धेरैभन्दा धेरै नेपालीमाझ चिनिन पाएकोमा सन्तुष्टि व्यक्त गर्छन् । भन्छन्, ‘मूलधारका मिडियाले मलाई निषेध गरेको होइन, मैलेचाहिँ मूलधारका मिडियालाई निषेध गरेको हुँ । युट्युबबाट मलाई फाइदै भएको छ ।’ उनी आफू मूलधारका मिडियाबाट युट्युबतिर आएको स्वीकार्छन् ।

यी त भए पढेलेखेका प्रतिनिधि पात्रहरूकाे भाइरलयात्रा । युट्युबमा रातारात हिट भएर पछि कन्तबिजाेग अवस्थामा पुगेका सर्वसाधारण त कति छन् कति ।

केही प्रतिनिधि घटना हेराैँः

पारिवारिक कलहका कारण सानै उमेरमा घर छोडेर हिँडेका काठमाडौं लाजिम्पाटका विजय केसी लामो समय भारतमा बसे । भौँतारिने क्रममा उनले भारतमा ‘बाबाजी’हरूको संगत गरे । र, आफू पनि ‘बाबा’ बनेर फर्किए ।

यता उनी काभ्रेको पनौतीस्थित मेला लाग्ने क्षेत्रमा आएर बसे । पनाैतीमा ७ वर्ष बसेपछि युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्यहाँबाट उनी लखेटिए । अनि काठमाडौंको सुन्दरीजलस्थित घाटको किरियापुत्री भवनमा आएर बस्न थाले ।

केसीले त्यहाँ आफूलाई ‘अघोरी बाबा’ भनेर चिनाउँथे । उनलाई सबैभन्दा पहिला युट्युबमा ल्याउने व्यक्ति हुन् कृष्ण कट्टेल, जो कुनै बेला मूलधारका मिडियामा पत्रकारिता गर्थे । कट्टेल अचेल युट्युबर बनेका छन् । युट्युबमै भाइरल बनेका लीलाराज खतिवडा नामका व्यक्तिलाई ’आउटडोर इन्टरभ्यु’ लिन भन्दै एक दिन कट्टेल सुन्दरीजलतिर गए ।

विजय केसी र लीलाराज पहिल्यैदेखिका साथी थिए । त्यही बेला कट्टेलले केसीलाई ‘अघोरी बाबा’का रूपमा अन्तर्वार्ता लिएर युट्युबमा अपलाेड गरिदिए । त्यहीँबाट सुरु भयो विजय केसीको भाइरलयात्रा, कथित् अघाेरी बाबाकाे रूपमा ।

उनी युट्युबमा बेस्सरी छाए । हुनलाई उनी नाम मात्रका अघोरी हुन् । वैशाख २०७६ बाट पाँच महिनाजति केसीले अन्तर्वार्ता दिनै नभ्याउने गरी युट्युबरको घुइँचो लाग्यो । यही मेसोमा उनले शारदा पाण्डे नाम गरेकी महिलासित विवाह गरे । त्यसको केही सातापछि ठगी आरोपमा समातिए ।

थुनामुक्त भएको केही दिन उनलाई युट्युबरले पछ्याए । अब उनीसित अन्तर्वार्ता नभएर युट्युबरले प्र्याङ्क गर्ने, झुक्याउने, लाप्पा खेलाउने, अन्टसन्ट प्रश्न गरी भिडियो बनाउन थाले । धार्मिकस्थल परिसरमा बसेर मनपरी गर्न थालेपछि बाबारूपी केसी सुन्दरीजलबाट निकालिए । हाल उनी सुन्दरीजलस्थित एक समितिले दिएकाे कोठामा बसेका छन् । कुनै बेला अन्तर्वार्ताकाे पैसा लिने उनलाई सोधीखोजी गर्न अचेल कोही आउँदैनन् । सामाजमा समेत आफू अपहेलितप्राय: भएकाे गुनासाे उनी गरिरहेका छन् । ‘भाइरल त भइयो तर अहिले फाटेको चप्पल लगाउने स्थितिमा ल्याएर छोडिदिए’, ५१ वर्षे केसीले भने ।

सानी छोरीलाई पिठ्युँमा राखेर रिक्सा चलाइरहेकाे भिडियाे खिचेर कैलालीका अर्जुन विक नामका युवकलाई २०७६ सालतिर युट्युबरले ‘भाइरल’ बनाइदिए । उनलाई श्रीमतीले अन्यायपूर्वक छाेडेकाे दाबी युट्युबरहरूकाे थियाे । उनीहरूले एकपक्षीय कुरा देखाएर काठमाडाैं देवीनगर बस्ने उनको पक्षमा सहानुभूति जमाए । भावाशेषमा ल्याएर अर्जुनलाई श्रीमती भनिएकी किशाेरीविरुद्ध बोल्नसमेत लगाए ।

इमानी पिताका रूपमा उनलाई हिराेजसरी देखाए । उनका बारेमा युट्युबमा गीत नै बन्यो । अर्जुनकाे चौतर्फी वाहवाही भयाे । युट्युबरलाई अन्तर्वार्ता दिनाले केही दिन अर्जुन ज्याला मजदुरीमा जानसमेत पाएनन् । उनकाे अनुहारमा भ्युज कम हुन थालेपछि युट्युबरले उनकी श्रीमती भनिएकी किशाेरीलाई भाइरल बनाए । श्रीमतीकाे कुरा बिकाउन युट्युबमा अर्जुन नै अपराधी भएको करार गर्दै भिडियोहरू आए

केही महिनाभित्रै उनी युट्युबमा हिरो अनि भिलेन बनाइए । यस्तै, बाझाबाझका क्रममा अन्ततः उनीहरूले छुट्टिने निर्णय गरे । तर, अर्जुनले यतिमै धर पाएनन् । युट्युबमा पारिवारिक कुराहरू छताछुल्ल भइसकेपछि प्रहरीले थाहा पायाे, अर्जुनकी श्रीमती भनिएकी किशाेरीकाे विवाह गर्ने उमेर नै भएकाे छैन तर उनले बच्चा पाइसकेकी छन् । त्यसपछि अर्जुनविरुद्ध बलात्कार मुद्दा लगाइयो र उनी समातिए । त्यसपछि युट्युबमा अर्जुनलाई दानवजसरी प्रस्तुत गरी सनसनीपूर्ण हेडलाइनसहितका भिडियोहरू आए । युट्युबरलाई थप मसला मिल्यो अनि स्वघोषित विश्लेषकहरूका लागि टिप्पणी गर्ने विषय ।

०००

शारीरिकरूपमा अपाङ्गता भएका चितवनका भीमबहादुर विक मागेर भए पनि जीविका चलाइरहेका थिए । रातारात भाइरल गराएर कतिपयले उनलाई दुर्व्यवहारको सिकारसमेत बनाए । पछि क्यामेरा बोकेको मान्छे देखेपछि भाग्नुपर्ने स्थितिमा पुगे उनी । कालीकोटका युवा विजय शाही युट्युबमा ‘मेमोरी किङ’हुँदै ‘ठग’ घाेषित भए । विनयजंग बस्नेत नाम गरेका व्यक्तिलाई युट्युबरले ‘अभियन्ता’देखि ‘यौन दुराचारी’सम्म करार गरिदिए । दूधे बच्चा काखमा बोकेर भाइरल बनेकी हेमा नाम गरेकी महिला युट्युबका भिडियोमा जुन सहानुभूतिसाथ छाइन्, त्यसको दुइगुणा आरोपहरू लागेर बदनाम भइन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्ता थुप्रै मानिस युट्युबमा भाइरल भए । अनि कसैलाई फाइदा, कसैलाई मनोरञ्जन दिएर आफू पुरानै स्थिति वा त्योभन्दा खराब हालतमा पुगे ।

नेपालका सबै युट्युबरले यसैगरी व्यक्ति, पात्रलाई सडकमा झार्छन् भन्नुचाहिँ गलत हुन्छ । किनकि, आवाजविहीनहरूको आवाज बनेका युट्युबरहरू पनि छन् । तर, धेरैजसोले सनसनीपूर्ण कन्टेन्टमा विश्वास गरेको पाइन्छ । त्यसैले उनीहरू भ्युज आउने कन्टेन्टको खोजीमा दौडिन्छन् । यसका लागि व्यक्तिको सीमितता र संवेदनशीलतालाई बेवास्ता गरिदिन्छन् ।

‘मेरो अनुभवमा केवल १० प्रतिशत युट्युबरले राम्रोसित काम गरेका रहेछन् । अरु यस्तै हुन्, उचाल्ने, पछार्ने । उनीहरूले युट्युबलाई काण्ड र फण्डाको रंगशाला बनाएका छन्’, कुनै बेलाका युट्युब भाइरल पुण्यले भने ।

उनका अनुसार कतिपय युट्युबरले सुरुमा अन्तर्वार्ता लिन्छन् । त्यो चल्यो भने एकपछि अर्को भिडियो निरन्तर बनाउँछन् । अन्तर्वार्ता चल्न छोडेपछि उनीहरू स्क्रिप्ट तयार गर्छन् र सोहीअनुसारको भिडियो गर्न भन्छन् । त्यसको पनि एउटा समयावधि हुन्छ । अनि त्यही पात्रकाे नकारात्मक कुरा खोतलेर भए पनि भ्युज बटुल्ने तहमा पुग्छन् ।

हिजोआज युट्युब र टिकटकमा प्युठानका भेलु बाजे (मीनबहादुर बुढा), दाङका काले दाइ (हीरा गुप्ता)हरू भाइरल छन् । उनीहरू आफ्नो थातथलोबाट रातारात काठमाडौं ल्याइएका छन् । उनीहरूलाई अन्तर्वार्ता दिन भ्याइ नभ्याइ छ । युट्युबका भाइरलहरूको विगत हेर्दा लाग्छ, अपवादबाहेक उनीहरू उस्तै अवस्थाका लागि अग्रसर छन् ।

Leave a comment

Your email address will not be published.