कहिले बन्लान् बालेन-सुनिताले प्राथमिकतामा राखेकाे फल्चा ‘बसस्टप’?

उपप्रमुख सुनिता डंगोलले गत शुक्रबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अरू धेरै याेजनासँगै महत्त्वका साथ बस स्टपहरूमा परम्परागत फल्चा निर्माण गरिने घाेषणा गरिन् ।

शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सम्पदा संरक्षण तथा संवर्द्धन र पूर्वाधार विकासलाई महत्त्व दिई बजेट विनियोजन गरिँदा फल्चाकाे याेजनालाई पनि महत्त्व दिइएकाे छ । २५ अर्ब ४१ करोड ९६ हजारको बजेटमा महानगरका मठमन्दिर, ऐतिहासिक तथा पुुरातात्विक सम्पदाहरूको संरक्षण र संवर्द्धनलाई महत्त्व दिइएकाे उल्लेख छ ।

लगत्तै डंगोलले काठमाडौं महानगरपालिकाको बजेट तयार गर्दा प्राथमिकता दिइएका केही क्षेत्रहरू सूचीबद्ध नाम लिएकी थिइन् । त्यसैमा परेकाे हाे, ‘बसस्टप’हरूमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने याेजना । त्यसका लागि महानगरले बजेट विनियोजन गरेकाे छ ।

नगरसभा बैठकको नीति तथा कार्यक्रममा नै प्रमुख बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगर क्षेत्रभित्र रहेका बसस्टपहरूमा फल्चा निर्माण गर्ने बताएका थिए । शाहले यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराइने र महानगर आफैँले पनि प्राथमिकतामा राखी यस्ता फल्चाहरूको निर्माण गरिने कार्यक्रम अघि सारेका थिए ।

सांस्कृतिक शहर, समृद्ध महानगर’ को नारा काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पटक–पटक दोहोराएको सुनिन्छ । ‘काठमाडौंको इतिहास संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु पहिलो कर्तव्य हुन आएको छ,’ महानगरका कार्यक्रमहरूमा प्रमुख–उपप्रमुखमार्फत प्राय: भन्दै आएका छन् । फल्चा निर्माणलाई यसैसँग जाेड्न खाेजिएकाे छ ।

विभिन्न संघसंस्था, निजी वा सरकारी तवरबाट यात्रु प्रतीक्षालयहरू बनेका छन् । बसपार्कहरू र अन्य खाली ठाउँहरूमा कतै टिन/जस्तापाताका प्रतीक्षालयहरू छन् । त्यस्तै, कतै प्लास्टिकका र सिसाका पनि छन् । तर, नेपाली परम्परागत शैलीका प्रतीक्षालय भने निकै कम छन् । तीनै परम्परागत शैलीका प्रतीक्षालय निर्माणमा लागिपर्ने प्रतिबद्धता मेयर उपमेयरले दिएका हुन् ।

भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापा फल्चा निर्माणका प्रारम्भिक योजनाहरू तयार भइसकेकाे बताउँछन् । महानगरबाट सुरुवाती चरणमा कतिवटा फल्चा निर्माण गर्न सकिन्छ भन्नेबारे भने निर्णय हुन बाँकी नै छ ।

फल्चा निर्माणबारे बजेट विनियोजन भए पनि के कति खर्च लाग्छ भन्नेबारे प्रस्ट थाहा नभइसकेको पनि थापाले बताए । थापा भन्छन्, ‘सबै प्रारम्भिक तयारी सकियो । कतिवटा फल्चा बनाउने भन्नेमा भने निर्णय भएको छैन ।’ महानगर पहिलो वर्ष विनियोजन गरिएको बजेटमा कतिवटा निर्माण गर्न सकिन्छ भन्ने पत्ता लगाउँदै छ ।

कतिवटा र कहाँ–कहाँ निर्माण गर्ने भन्नेमा केही कुरा ध्यानमा राख्नुपर्ने थापाले प्रस्ट्याए । भएका कतिवटा फल्चाहरूको मर्मत आवश्यक छ ? कहाँका नयाँ डिजाइन (प्लास्टिक, सिसा, टिन)का प्रतीक्षालय भत्काउनु छ ? परम्परागत शैलीको निर्माणलाई कहाँ पर्याप्त ठाउँहरू छन् र कहाँ आवश्यक छन् ? यिनै कुराहरूमा पर्याप्त अध्ययन बाँकी रहेको थापाको भनाइ छ ।

फल्चा निर्माणको लागत पनि अन्य साधारण प्रतीक्षालयको तुलनामा धेरै छ । थापाका अनुसार, हालसालै बनाइएको स–साना फल्चाहरू निर्माणमा करिब १० देखि १५ लाख खर्च भएको छ । त्यसैले पर्याप्त ठाउँ, धेरै जना बस्न सकिने फल्चा निर्माण गर्न २० देखि २५ लाखको लागत आकलन गरिएको छ ।

‘धेरै जना बस्न सकिने, ठूलो फल्चा निर्माण गर्न कम्तीमा पनि २०–२५ लाख खर्च लाग्ने अनुमान गरिएको छ’, थापा भन्छन्, ‘परम्परागत शैलीको लागत धेरै हुनु अस्वाभाविक पनि होइन । किनकि काठको प्रयोग धेरै गरिएको हुन्छ । छाना, स्तम्भ सबै काठकै प्रयोग गरिन्छ । कामको ज्याला पनि बढी खर्चिलो हुन्छ ।’

काठमाडौं महानगर क्षेत्रमा हाल करिब २०–२५ वटा परम्परागत शैलीका फल्चाहरू छन् । यसअघिका बजेटहरूमा भने परम्परागत शैलीका फल्चा निर्माणको योजना आएका थिएनन् । यद्यपि, कतिपय फल्चाको मर्मतको काम भने भएका थिए । महानगर क्षेत्रमा अहिले देखिने अधिकांश पुराना फल्चाहरू मर्मत गरेर संरक्षण गरिएको हो ।

फल्चा नै किन त ?

खाली ठाउँहरूमा फल्चा राखिने, पाटीपौवा बनाउने चलन निकै पुरानो भएको बताउँछन्, संस्कृतिविद् गोविन्द टण्डन । राम्रो व्यवस्थापन, मर्मत नभएकाले पुराना फल्चा बस्न अयोग्य भएको टण्डनको भनाइ छ ।

‘बटुवा, शहर–बजार डुल्न आउनेहरू कहाँ बस्ने त भन्दा पहिला फल्चा धेरै हुन्थे र त्यहीँ बस्थे । आराम गर्ने थलो हुने गर्थ्यो । वृद्धवृद्धाहरू जमघट गर्न पनि फल्चामै आउने गर्थे’ टण्डनले भने, ‘भजन गाउने, गफगाफ गर्ने, सामाजिक सल्लाह गर्न पनि फल्चामा जम्मा हुने गर्थे । पहिलाका यस्ता संस्कृतिको पुनःजागरण गर्न थप फल्चा निर्माणको कुरा आउनु निकै उत्कृष्ट छ ।’

कतिपय पाटी, फल्चाहरूमा सडक कुकुरहरूले फोहोर गर्ने, बास बस्ने गरी मानिसहरू आएकाले भत्काइएको पनि टण्डन सम्झन्छन् । अब निर्माण हुने फल्चाहरूको उचित व्यवस्थापन गरिनुपर्ने र गाँजा, भाङ खाने, अनैतिक काम गर्ने थलो बन्नबाट रोक्नुपर्नेमा टण्डनको जाेड छ ।

Leave a comment

Your email address will not be published.