सफल होला त निजी विद्यालयको शुल्क घटाउने बालेनको योजना ? यस्तो भन्छन् नेसनल प्याब्सन अध्यक्ष हमाल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका भित्रका निजी विद्यालयहरुले लिदै आएको शुल्क घटाउने तयारी थालेका छन् । मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा काठमाडौंका निजि विद्यालयको शुल्कमा कडाई गर्ने उल्लेख गरेका थिए । त्यही नीतिलाई कार्यान्वयन गर्नका लागि आन्तरिक गृहकार्य थालेका हुन् ।

उनको यो कार्यप्रति काठमाडौंभित्रका निजि विद्यालयहरूले भने आपत्ति जनाएका छन् । निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले मेयर बालेनले निजी विद्यालयहरुको बारेमा जानकारी नपाएकाले हचुवाका भरमा नीति तथा कार्यक्रममा शुल्कको विषय समावेश गरेको बताए ।

हामीले शैक्षिक सत्र सुरु हुन पूर्व तीन महिना अगाडी नै शिक्षा नियमावली अनुसार विद्यालयका छाता संगठनहरुले सबै विद्यालयको शुल्क निर्धारण विवरण स्थानीय तह लगायत सम्बन्धित ठाउँमा पेश गरेका छौँ। शुल्कका लागि नियमावलीले प्रष्ट पारेको छ।’, हमालले भने, ‘क, ख, ग, घ, श्रेणीमा विभाजन गरी त्यही अनुसार नियमावलीमा कति शुल्क लिने भन्ने किटान गरेको छ । त्यसैले यो उहाँहरुको सुझाव हुनसक्ला तर, कार्यान्वयनको पक्षमा राम्रो होइन।’

‘निजी विद्यालयको छाता संगठन एनप्याब्सन र प्याब्सन छ। हामीकहाँ देशभर ३५ सय विद्यालय छन्। यो मुलुकमा विभिन्न समुदाय, संस्था, कुटनीतिक आयोगले विद्यालय सञ्चालन गरेका छन्। सरकारले अनुमति दिएको छ। ती स्कुल फरक–फरक प्रकृतिका छन्। तर,हाम्रो भने यहीको विशुद्ध नागरिक पढ्ने, मुलुकमै स्वरोजगार बनाउन आफ्नै पैतृक सम्पत्ति लगानी गरेर विद्यालय खोलेका हौँ। हाम्रो राज्यमा योगदान छ। न्यून शुल्क कायम गरेका छौँ।’ उनले अगाडी भने ।

हमालले तीन वर्षदेखि शुल्क नबढाएको स्पष्ट पारे । ‘घरबेटीले वर्षेनी १० प्रतिशतले भाडा बढाउँछ। यो हिसाबले त हामीले तीन वर्षमा ३० प्रतिशत शुल्क बढाउनुपर्ने हो। तर,बढाएनौँ। महँगी बढेकोले केही विद्यालयले शुल्क बढाएको हुनसक्ला।’ उनले भने, ‘बरु अरु निकायले चलाएका विद्यालयको शुल्कमा सीमा छैन। डेढ दुई लाखसम्म शुल्क लिएका छन। त्यसमा अनुगमन राज्यले नगर्ने तर, हाम्रोमा अनावश्यक नियमन गर्न खोजिएको छ। यो हामीलाई मान्य छैन।’

Leave a comment

Your email address will not be published.