पोखराबाट विराटनगरतर्फ जाँदै गरेको बस हरिवनमा पल्टियो, १७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा अग्नी यातायातको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

पोखराबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायातको बस मंगलबार साँझ हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो। बस सडकबाट एक बल्ड्याङ खाएर तल खसेको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई हरिवनस्थित नमूना अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि अन्यत्र रेफर गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। बाँकी घाइतेको नमूना अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेमा सुनसरीको भन्टाबारी नगरपालिका–९ का ४० वर्षीय अरुण महतो, महोत्तरीको बर्दिबास नगरपालिका–२ बुद्धचोकका ३६ वर्षीया बिमला सेन्चुरी, सर्लाहीको लालबन्दी नगरपालिका–९ का ३७ वर्षीया सुधा खड्का र उनको ४ वर्षीय छोरा कृष खड्का, हरिपुर नगरपालिका–२ चिताइन बस्ने ६५ वर्षीय रामपुजन कुमर, उनका ६५ वर्षीया पत्नी रमनी कुमर, रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्ने २५ वर्षीया निल कुमारी राम, सर्लाहीको लालबन्दी नगरपालिका–११ बस्ने ६० वर्षीया सिलादेवी ठाकुर, रौतहटको राजपुर नगरपालिका–२ बस्ने ४० वर्षीय राजदेव भगत र उनका ११ वर्षीय छोरा रञ्जनकुमार चौरसिया छन्।

त्यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–११ बस्ने १९ वर्षीया पुष्पा गौतम, सर्लाहीको बागमती नगरपालिका–१० बस्ने १३ वर्षीया अस्मिता आचार्य, हरिपुर नगरपालिका–५ बस्ने ४८ वर्षीया ठगनीदेवी चौधरी, सोही नगरपालिका– ८ बस्ने ७० वर्षीया असिया देवी चौधरी, रौतहटको गुजरा नगरपालिका–३ बस्ने २४ वर्षीय सयफुरलाई देवान र सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्ने ३७ वर्षीय सुदिप खड्का पनि घाइते भएका छन्।

तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बसका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published.