स्वतन्त्र मेयरहरूबारे मिलन पाण्डे– बालेनहरू असफल भए म पनि हुन्छु (भिडियो)

पुराना पार्टी र नेताको विकल्प खोज्ने भन्दै नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको कसरत भइरहेको छ । केही वर्षयता वैकल्पिक राजनीतिको चर्चा हुन थालेको छ । वैकल्पिक राजनीतिको जग आफूले हालेको दाबी गर्ने तत्कालीन विवेकशील पार्टी र रवीन्द्र मिश्रको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बन्यो ।

रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज ल्याएर राजसंस्थाको पक्षतर्फ ढल्किएपछि तीव्र विवादबाट गुज्रिएको विवेकशीलको भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । ३ असोज २०७२ मा संविधान निर्माणसँगै माओवादीको पुरानो घर छाडेर नयाँ घर बनाउन निक्लिएका डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि वैकल्पिक राजनीतिको मुद्दा झनै सघन बनेको थियो ।

भट्टराईले पनि तत्कालीन संघीय समाजवादी पार्टीसँग पार्टीएकता गरे । उक्त एकता पनि अवसानको चरणमा छ र उनी जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिने निश्चितप्रायः भएको छ ।

विवेकशीलको किचलो र बाबुरामको नयाँ शक्तिको विघटनसँगै वैकल्पिक राजनीतिको बहस ओझेलमा पर्दै गएको छ । २०७० देखि २०७४/७५ सम्म खास बहसमा आएको वैकल्पिक राजनीतिको चर्चा सेलाउँदै जाँदा अहिले स्वतन्त्र उम्मेदवारीको लहर देखिएको छ ।

संघ र प्रदेशको निर्वाचनको मिति घोषणा नहुँदै विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिका नाम सार्वजनिक भइरहेका छन् । खासगरी दुई महिनाअघिको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल विजयी भएपछि स्वतन्त्र उम्मेदवारीप्रति मोह बढेको देखिएको छ ।

स्वतन्त्र उम्मेदवार बन्ने लहर चलिरहँदा विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे वैकल्पिक राजनीतिको लहरका रूपमा नै लिन्छन् । स्वतन्त्र रूपमा जितेका जनप्रतिनिधिहरू सफल हुनुपर्ने र यसले वैकल्पिक राजनीतिलाई सघाउ पुग्ने बताउँदै पाण्डेले भने, ‘बालेनजीहरू असफल हुनुभयो भने म नै असफल भएँ नि ।’

स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारको सहभागिता र विजयलाई स्वाभाविक रूपमा लिएका पाण्डे प्रदेश र संघको निर्वाचनमा देखिएको स्वतन्त्र उम्मेदवारी घोषणाको विषयमा भने आफू ‘कन्भिन्स’ हुन नसकेको बताउँछन् । पाण्डेका अनुसार, नीति निर्माणको थलोमा जाने सांसदहरूले के कस्तो सिद्धान्त र विचार बोक्छन् भन्ने कुरा मतदाताले जानकारी पाउनुपर्छ ।

स्थानीय तह निर्वाचनमा विवेकशील पार्टीको पराजयपश्चात् रवीन्द्र मिश्रले राजीनामा दिएपछि पाण्डे अहिले विवेकशील साझाको मूल नेतृत्वमा छन् । पार्टीभित्रको वैचारिक र अन्य समस्यालाई चाँडै टुङ्ग्याउने बताउँदै पाण्डेले पार्टीले नयाँ उचाइ लिने बताए । पाण्डेका अनुसार, अहिले विवेकशील साझा पार्टी ‘पेनफूल प्रोसेस’बाट गुज्रिरेहेको छ ।

Leave a comment

Your email address will not be published.