पालमुनि बसेर हजारौँ ज्यान बचाउन खटेका ‘कोशी कुरुवा’हरू

उदयपुरको बेलका नगरपालिका- ८, डुम्रीबोटे जीरोपोइन्ट । निलो त्रिपालले बनाएको छाप्रो । नजिकै सुसाइरहेको धमिलो सप्तकोशी । असार लागेयता ४८ वर्षे लोकबहादुर लिम्बू (लुङ्गा), ४३ वर्षे जयबहादुर राई र ५१ वर्षे कुमेर धन (ढलानघरे) को बास यही छाप्रोमा छ ।

उनीहरू यही पालमुनि खाना बनाएर खान्छन् । राति आलोपालो गर्दै सुत्छन् । शौच गर्नुपरे छेउछाउका घारीतिर जान्छन् । तर, एकमिनेट पनि छाप्राे खाली गरी यताउति जाँदैनन् ।

छाप्रोबाट करिब दुई सय मिटर तल कोशीको बाढीले पश्चिमतिर कटान गरिरहेको छ । कुनै पनि बेला सप्तकोशी खयरघारीमा पस्न सक्ने खतरा छ । यसो भएमा एबीसी टप्पुका लोकबहादुर, जयबहादुर र कुमेरसहित हजारौँका घरबारलाई सप्तकोशीले बगर बनाइदिने छ । त्यसैले कोशीको बहाव निगरानी गर्न तीन जना त्रिपाल टाँगेर किनारमा रुँगिरहेका छन् । र, चौबीसै घण्टा चनाखो छन् ।

जीराेपाेइन्टबाट काेशी छिरेमा एबीसी टप्पु मात्र हाेइन, उदयपुरसहित सुनसरी र सप्तरीका लाखाैँ परिवार बिचल्लीमा पर्छन्’, काेशी कटान संघर्ष समितिका अध्यक्ष मिश्रीलाल महताेले भने ।

कोशी बढेको थाहा पाउन काेशी करुवाहरूले दुइटा ढुंगा लगेर किनारमा राखेका छन् । जब पानीले त्यो ढुंगा छुन्छ, उनीहरू फोन घुमाइहाल्छन् । तीन जना आलोपालो गरी सुत्ने गरेको लुङ्गाले बताए । ‘कोशी घटेका बेला पानी बढी कराउँछ तर बढेको थाहै हुँदैन’, उनले भने ।

Leave a comment

Your email address will not be published.