गुण्डा नाइके समीरमानलाई जेलमा भेट्न गएका डीएसपी केसीमाथि विभागीय कारबाही

प्रहरी वृत्त स्वयम्भुका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले विभागीय कारबाही गरेको छ ।

डीएसपी केसीले २९ जेठ बिदाका दिन निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटाउन अमृत केसीलाई केन्द्रीय कारागार सुन्धारा लगेका थिए । केसीमाथि छानबिन गर्न काठमाडौं प्रहरी परिसरका उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समिति बनेको थियो ।

सोही समितिले डीएसपी केसी गलत मनसायले बस्नेतलाई भेट्न नपुगे पनि पदीय मर्यादा नाघेर बाफलका अमृत केसीलाई भेट्न सहयोग गरेको ठहर गर्दै प्रहरी नियमावलीअनुसार विभागीय कारबाही सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई नसिहत दिएको हो । केसीलाई ट्र्याक रेकर्ड राख्ने गरी नसिहत दिइएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । नसिहत पाएका प्रहरी अधिकारीलाई एक वर्षसम्म शान्ति मिसनको अवसरबाट बञ्चित गरिएको हुन्छ । त्योबाहेक उनले संगठनबाट पाउने अन्य सुविधासमेत पाउँदैनन् ।

समितिले आफ्नो क्षेत्राधिकार नै नभएको ठाउँमा माथिल्लो निकायलाई जानकारी नै नदिई कारागार पुग्नु केसीको गम्भीर कजोरी भएको औँल्याएको थियो । छानबिन समिति बनेलगत्तै डीएसपी केसीलाई वृत्त स्वयम्भुबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका थिए । हाल उनी रानीपोखरीमै कार्यरत छन् ।

स्रोत:यो खबर शिलापत्रमा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.