मंसिर २ मा चुनाव गर्ने आयोगको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

आगामी मंसिर २ गते संघ र प्रदेशकाे चुनाव गर्ने निर्वाचन आयाेगकाे प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । बरु मंसिर ४ मा चुनाव गर्न सकिने जवाफ देउवाले आयाेगलाई दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली बुधबार निर्वाचनको मिति घोषणाका लागि परामर्श गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएको थियो ।

बालुवाटारमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग टोलीले मंसिर २ गते एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

तर, प्रधानमन्त्री देउवाले भने आयोगले प्रस्ताव गरेको भन्दा दुई दिन ढिलो अर्थात मंसिर ४ मा चुनाव गर्नेगरी तयारी गर्न निर्देशन दिएका हुन् ।

‘उहाँहरू (आयाेगकाे टाेली)ले मंसिर २ मा चुनाव गराैँ भन्ने प्रस्ताव सुनाउनुभएकाे थियाे । तर, प्रधानमन्त्रीज्यूले मंसिर ४ मा गराैँ भन्नुभयाे’, प्रधानमन्त्री सचिवालययका एक सदस्यले भने ।

छलफलमा प्रधानमन्त्री देउवाले मंसिर ४ गते चुनाव गर्नेगरी तयारीमा जुट्न आयोगका पदाधिकारीलाई निर्देशन समेत दिएकाे उनले बताए । मंसिर ४ मा चुनाव गर्ने प्रधानमन्त्रीकाे प्रस्ताव आयाेगले पनि सकारात्मक लिएकाे उनकाे बताए ।

‘मंसिर ५ भित्र चुनाव गराउनुपर्ने बाध्यता छ । कम्तीमा १ सय २० दिन समयावधि राखेर मिति घाेषणा गरियाेस् । मंसिर ४ मा गराउँदा पनि हुन्छ’, आयाेगका पदाधिकारीले जवाफ दिएकाे उनले बताए ।

प्रधानमन्त्री देउवाले आयोगले प्रस्ताव गरेको भन्दा दुई दिन मात्रै ढिलो किन चुनावको मिति तय गर्न खाेजेका हुन् भन्नेबारे भने कौतुहल बढेको छ ।

Leave a comment

Your email address will not be published.