हमलाकारीकाे बयान- म आबेसँग सन्तुष्ट थिइनँ, मार्छु भनेरै गोली ठोकेको हुँ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने आक्रमणकारीले उनलाई मार्नकै लागि निशाना बनाएको बताएका छन् । घटनालगत्तै बन्दुकसहित पक्राउ परेका ४१ वर्षीय यामागामी तेत्सुयाले अनुसन्धान अधिकारीहरूसमक्ष आफू आबेको कामप्रति सन्तुष्ट नरहेकाे बयान दिएका हुन् ।

आबेकाे कामसँग सन्तुष्ट हुन नसकेकै कारण उनको हत्या गर्ने मनसायले गोली प्रहार गरेको तेत्सुयाले बयान दिएकाे खबर जापानका सञ्चारमाध्यमले लेखेका छन् ।

आज बिहान एक सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेपछि उनी रगताम्य भएर ढलेका थिए । लगत्तै उनलाई अस्पताल लगिएको थियो ।

यसैबीच जापानका प्रधानमन्त्री फुमियो किशिदाले पूर्वप्रधानमन्त्री आबेको गम्भीर हालतमा उपचार जारी रहेको बताएका छन् ।आबेको उपचारका लागि चिकित्सकहरूले भरमग्दुर प्रयास गरिरहेको पनि उनले जानकारी दिएका छन् । हरहालतमा आबेलाई बचाउने प्रयास भइरहेको उनको भनाइ छ ।

यो हमला बर्बर र द्वेषपूर्ण रहेको प्रधानमन्त्री किशिदाले बताएका छन् । उनले यो आक्रमणलाई जापानले सहन नसक्ने पनि बताएका छन् । घटनाको आफूले कडा शब्दमा निन्दा गर्न चाहेको उनले बताए । लोकतन्त्रमा यस्ता खाले हिंसालाई कुनै स्थान दिन नसकिने उनले बताएका छन् ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार आबेको अझै होस खुलेको छैन । उनीमाथि गोली चलाउने व्यक्ति ४१ वर्षीय यामागामी नारा शहरका स्थानीय बासिन्दा रहेकाे र उनी पूर्व जलसेनाका सदस्य रहेको पनि खुलेको समाचारमा जनाइएकाे छ ।

आबे जापानको युद्धपछिको इतिहासमा सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एक हुन् । उनी सबैभन्दा लामो समयसम्म जापानको प्रधानमन्त्री बनेका थिए । आबेले स्वास्थ्यको कारण देखाउँदै सन् २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले पछि आफूलाई आन्द्राको रोग रहेको खुलाएका थिए । जापानमा बन्दुक हमलाका घटनाहरू दुर्लभ छन् । जापानी नागरिकले बन्दुक किन्न कडा परीक्षा र मानसिक स्वास्थ्य परीक्षणहरू गर्नुपर्छ ।

Leave a comment

Your email address will not be published.