कोटेश्वरमा मोटरसाइकल चालकको ज्यान लिएर फरार टिपर ड्राइभर कीर्तिपुरबाट पक्राउ

कोटेश्वर चोकमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका टिपर चालकलाई प्रहरीले बुधबार कीर्तिपुरको सुन्दरी घाटबाट पक्राउ गरेको छ।

मंगलबार राति ११ बजेर १५ मिनेटमा कोटेश्वर चोकमा टिप्पर र प्रदेश नं. ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

दुर्घटनापछि फरार टिपर चालकलाई प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। त्यहीँबाट दुर्घटनामा संलग्न १ क ४५०२ नम्बरको टिप्पर पनि बरामद भएको छ।

पक्राउ परेका चालक तनहुँको भानु नगरपालिका-१० घर भई हाल रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठ रहेका छन्। उनलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

उक्त दुर्घटनामा घाइते भएका मोरङको पथरी घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बुको ट्रमा सेन्टरमा उपचारका क्रममा त्यही राति ज्यान गएको थियो।

मोटरसाइकलको पछाडि सवार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई बनेपा बस्ने ३१ वर्षीय देव लामाको उक्त दुर्घटनामा बायाँ गोडा भाँच्चिएको छ। उनको हाल ट्रमा सेन्टरमा उपचार हुँदैछ।

Leave a comment

Your email address will not be published.