बालिकामाथि यौन दुर्व्यवहार प्रकरण: वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष भुवन सिं घलानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्थानीय कालिका माविमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका घलानविरुद्ध जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको हो । घलानलाई १९ असारमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता खेल्न हेटौँडा आएकी छात्रामाथि राति बास बसेको होटलको कोठामा यौन दुर्व्यवहार गरेको आरोप छ । छात्राले शुक्रबार मकवानपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

हेटौँडामा १८-१९ असारमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको थियो । पीडित छात्रासहित अन्य विद्यार्थी खेलाडी, विद्यालयका शिक्षक हेटौँडा–१ स्थित आसन गेष्ट हाउसमा बसेका थिए । सोही होटलमा बसेका वडाध्यक्ष घलानले १९ गते राति आफू सुतेको कोठामा आएर गोप्य अंगमा हात लगाएको छात्राले आरोप लगाएकी छन् । आफूले लातीले हानेपछि वडाध्यक्ष भागेको छात्राले जाहेरीमा बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले आरोपित वडाध्यक्षलाई पक्राउ गर्न टोली खटिएको बताए । ‘पक्राउ पुर्जी जारी भइसक्यो । आरोपितको खोजीमा प्रहरी लागेको छ । पक्राउ गरेर ल्याउँछौँ,’ गुरुङले भने ।

Leave a comment

Your email address will not be published.