काठमाडौंका सडकमा मास्क नलगाइ हिँड्नेलाई तिराउन थालियो सय रुपैयाँ

मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्न थालेको छ। जिल्ला प्रशासनले सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएकालाई जनही एक सय रुपैयाँका दरले जरिवाना तिराएको हो।

प्रशासनले काठमाडौंको सुनधारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ।

अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणलाई पनि कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डबारे सचेत गराइएको बताए।

उनले सपिङ मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाउने गरी सचेत गराइएको बताए। स्वास्थ्य मापदण्ड पालना नगर्ने आम सर्वसाधारणलाई १०० रुपैयाँ जरिवाना गरिएको उनले बताए।

‘आज जिल्ला प्रशासन कार्यालयबाट नेपालभर फैलिएको कोभिड-१९ को सन्दर्भमा नेपाल सरकारले जारी गरेका निर्देशिका, गृह मन्त्रालयले जारी गरेका निर्देशिका बमोजिम विभिन्न मलहरु, अन्य बजार एरियाका पसलहरूमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरियो’, उनले भने, ‘विशेषतः सुन्धारा क्षेत्रका सिभिल मल, सिटिसी मल लगायत सर्वसाधारणले पनि मास्क लाए-नलाएको अवस्थाबारे अनुगमन गरिएको हो। कलंकी क्षेत्रमा रहेको भाटभटेनी सुपरमार्केटमा पनि अनुगमन गरियो। सिटी सेन्टर, सिभिल मल र भाटभटेनी सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिका बमोजिम एक पटकमा २५ जना मात्र उपस्थित भएर व्यवसाय गर्नुपर्ने सम्बन्धमा सचेत गराएका छौँ।’

त्यसबाहेक बजार एरिया, सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्न कारबाही गरिएको पनि उनले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता नागरिक भएकोले आफैं सचेत बनेर कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेका छन्।

Leave a comment

Your email address will not be published.