साउने सङ्क्रान्ति मनाइँदै

दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन। पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन्। खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन्।

जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेको देखिएका छन्।

खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ।

सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि आज एकाबिहानै बस्ती–बस्तीबाट युवायुवतीको समूह ती वनस्पतिको खोजमा वन क्षेत्र पसेका छन्। पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, बिन, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवा पनि सरिक देखिएका छन्।

एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफूहरु लुतो फाल्ने पर्व मनाउने साथीहरूसँगै रमाइलोमा मिसिएको भङ्गाहा–४ का बासिन्दा २० वर्षीय इस्लाम धर्मावलम्बी युवा अमिरुल राइन बताउँछन्।

समूहमा एकसाथ हिँड्दा रमाइलो लाग्छ, फेरि हाम्रा पुराना परम्परा जगाइराख्ने पनि त भयो’, बर्दिबास–७ मनहरिपुरकी २२ वर्षीया मीना खत्री भन्छिन्, ‘बस्तीका एक उमेरका साथीबीचको हेलमेलले संस्कृति थेग्ने कुरामात्र नभई सामाजिक काम पनि सहज बन्छन्।’

आफ्ना बस्तीमा नयाँ युवापुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुसी देखिएका छन्। तराईमा मनाइने छठ, चौरचन र जुडशीतल लगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरइद र मुहर्रमजस्ता पर्वमा पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरूमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ का सामाजिक, राजनीतिक कार्यकर्ता गङ्गाराम महतो बताउँछन।

‘हामी उमेरदारी तन्नेरी हुँदा ‘लुतो फाल्ने’ चलन त्यति थिएन, पहाडी मूलका हिन्दूको बसोबास बढेपछि थाहा पायौँ’, उनी भन्छन्, ‘अहिले हाम्रा छोरा पुस्ता सँगसँगै यो पर्व मनाउँदै छन्, सबै एकसाथ मिलेको देख्दा खुसी लाग्छ।’ जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरू अब सबैका साझा बन्दै गरेका देखिन्छन्। फरक–फरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमछिमले पुराना राजनीतिक आग्रह र पहाडी मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण हराउँदै, मेटिँदै जाँदा खुसी लाग्ने गरेको बर्दिबास–९ पशुपतिनगरका पाका व्यक्तित्व ७० वर्षीय रामचन्द्र महतोको धारणा छ।

पर्वका अवसरमा आज जिल्लाको सुदूर उत्तरी क्षेत्रको सघन वनक्षेत्रमा विभिन्न ठाउँका युवाको समूह ‘लुतो फाल्ने’ पर्व प्रयोजनका वनस्पति खोज्न व्यस्त छन्। साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आपूm पनि वनस्पति खोज्न आएको वन क्षेत्रमा भेटिएका गौशाला नगरपालिका–१ का १७ वर्षीय किशोर पङ्कज साह बताउँछन्।

जिल्लाको उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ। जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेष रूपमै मनाउने गरेका छन्। मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई बोलाएर ख्वाउने परम्परा छ। बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन्।

फरक–फरक परम्परा, संस्कृति र रीतिथितिका भए पनि एक ठाउँमा बस्ने युवा र किशोरवयका छोराछोरीको आपसी घुलमिल देख्दा बाबु, काका पनि मख्ख देखिन्छन्। ‘यहाँ मधेसी हउन् कि पहाडी मूलका हुन्, अनि हिन्दू हउन् कि इस्लाम, सबै सँगसँगै चाडवाड मनाउँछन्’, भङ्गाहा–४ कै इस्लाम धर्मावलम्बी ५० वर्षीय सहबुल अन्सारी भन्छन्, ‘आफ्नो बस्तीका पछिल्ला पुस्ताका युवा र किशोरबीचको प्रेम र आपसी हेलमेल देख्दा मन प्रसन्न हुन्छ।’

पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको ठहर छ। फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोबहादुर ठकुरी बताउँछन्।

Leave a comment

Your email address will not be published.