श्रीमती प्रयाेग गरेर हनी ट्र्यापिङ, यसरी परे प्रहरी फन्दामा

सिन्धुलीका ३१ वर्षीय कृष्णहरि खड्का र कल्पना बस्नेत श्रीमान् श्रीमती हुन् । हाल काठमाडौं बौद्धमा बस्दै आएका उनीहरूको खास पेसा व्यवसाय भने केही छैन । तर, उनीहरूको लवाइखवाइ, हिँडाइ, बसाइ भने उपल्लो घरानाको परिवारको भन्दा कम देखिँदैन । उनै कल्पना र खड्कालाई प्रहरीले २ साउनमा पक्राउ गरेको छ ।

आपराधिक लाभ लिन खोजेको अभियोगमा उजुरी परेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । तर, प्रहरीले अनुसन्धान गर्दै जाँदा श्रीमान् श्रीमती मिलेर प्रेमजाल ‘हनी ट्र्याप’ मा पारेर युवाहरूबाट रकम असुल्दै आएको तथ्य भेटाएको अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

‘कल्पना र उनका श्रीमान् मिलेर नै युवाहरूलाई हनी ट्र्यापमा पारेर रकम असुल्ने गरेको देखिएको छ । उनीहरूमाथि उजुरी बढ्ने देखिन्छ,’ एसपी कोइराला भन्छन् ।

उनका अनुसार कल्पना सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमले भेट भएर सम्पर्कमा आएका युवाहरूसँग नजिकिने र उनीहरूसित रेस्टुरेन्टमा बस्ने, अन्तरंग सम्पर्कका लागि आफैँ अँगालो हाल्ने र घर पुगेपछि श्रीमान्‌लाई फोन गर्न लगाएर रकमको बार्गेनिङ गर्ने गरेको खुलेको हो ।

उनीहरूले रकम नदिए बलात्कार मुद्दामा उजुरी दिने भन्दै डरत्रास देखाउने गरेको थिए । श्रीमान्‌बाहेक कल्पनाले युवाहरूबाट रकम असुल्न एक जना नक्कली इन्स्पेक्टरको समेत प्रयोग गरेको खुलेको छ । प्रहरीले ती नक्कली इन्स्पेक्टरलाई समेत पक्राउ गरेको एसपी कोइरालाले बताए । पक्राउ परेका नक्कली इन्स्पेक्टर सिन्धुलीकै सञ्जय कार्की हुन् ।

एसपी कोइराला भन्छन्, ‘महिलाले सुरुमा आफ्नै श्रीमान् प्रयोग गरेर बार्गेनिङ गर्ने गरेको देखिन्छ । त्यसपछि प्रहरीमा उजुरी दिइसकेँ भनेर युवालाई त्रासमा पार्ने र नक्कली प्रहरीसँगको कुरासमेत युवालाई सुनाउने र रकम दिए कुरा मिल्ने भन्दै त्रासमा पार्ने र रकम असुल्ने गरेको देखिएको छ ।’

प्रहरीमा उजुरी दिएका एक युवाबाट उनीहरूले पहिलोपटक ५० हजार रकम लिइसकेको प्रहरीको भनाइ छ । दोस्रोपटक ३ लाख ५० हजार रकम असुल्न खोज्दा उनीहरू प्रहरीको पासाेमा परेका हुन् । सामान्य जुत्ता पसल सञ्चालन गर्ने युवालाई उनले त्रासमा पारेर रकम असुलेका थिए ।

त्यस्तै, एक टेलिभिजन पत्रकारलाई समेत जालमा पारेको खुलेको छ । कल्पनाले आफू पीडित भएको र अदालतका एक न्यायाधीशले घुस मागेको भन्दै ती पत्रकारलाई भेट्न बोलाएका थिइन् । पत्रकारलाई राति ९ बजे चाबहिलमा भेट्न बोलाएर कल्पनाका श्रीमान्‌ले राति नै फोन गरेर मेरी श्रीमतीलाई किन भेटेको ? पल शाहको जस्तै फसाइदिन्छु भन्दै धम्की दिएका थिए । उनले समेत उजुरी दिएका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा युवती प्रयोग गरेर हनी ट्र्यापमा पार्ने पुरुषको समूह र केही युवतीको समूहसमेत सक्रिय रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । ललितपुर प्रहरीमा समेत केही युवाहरू आफू हनी ट्र्यापमा परेको भन्दै उजुरी दिएका छन् । उनीहरूमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघिसमेत हनी ट्र्यापिङ गरेको अभियोगमा अपराध अनुसन्धान कार्यालयको टोलीले दुई युवतीसहित छ जनालाई पक्राउ गरेको थियो ।

Leave a comment

Your email address will not be published.