देवनागरी लिपिमै इम्बोस्ड नम्बरप्लेख राखिने, यातायात मन्त्रालयले थाल्यो तयारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बरप्लेट देवनागरीमै राख्ने तयारी थालेको छ । नेपाली मौलिकता झल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले बताए ।

‘हामीले यो विषयमा कानुन मन्त्रालयमा लिखित पत्र पठाँएका छौँ । १/२ दिनमा राय आउला । कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि क्याबिनेटबाट कानुनी बाटो खुलाउने तयारी हो,’ भौतिक पूर्वाधारमन्त्री राईले भने ।

नम्बरप्लेट देवानागरी वा अंग्रेजी र देवानागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । यसका लागि ठेकेदार कम्पनी डेकाटोर टाइगरलाई पनि चिठी काटिएको राईले बताए ।

‘हामीले थप आर्थिक भार नपर्ने गरी ठेकेदार कम्पनीलाई आग्रह गरेका छौँ । कम्पनीले मान्यो भने तत्काल कार्यान्वयनमा ल्याउछौँ,’ उनले भने । इम्बोस्ड नम्बरप्लेटको औचित्यका लागि कम्पनीसँगको सम्झौताअनुसार १० वटा आरएफआईडी गेट तत्काल बनाइने उनले स्पष्ट पारे ।

इम्बोस्ड नम्बरप्लेटको सन्दर्भमा यसअघि पनि विभिन्न विवाद उठेका थिए । सरकारी कामकाजको भाषा देवनागरी लिपि भएकाले नम्बरप्लेटमा नेपाली अक्षर हुनुपर्ने भन्दै अधिवक्ता भरतकुमार बस्नेतले फागुन २०७४ मा रिट दर्ता गराएका थिए ।

रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै नम्बरप्लेट जडान कार्य रोकेको थियो । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुल्यो । १० साउन ०७७ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले इम्बोस्ड नम्बरप्लेट वितरण सुरुवात गरेका थिए ।

सुरुवाती चरणमा सरकारी सवारीसाधनबाट जडान सुरु गरिएको इम्बोस्ड नम्बरप्लेट पछि निजीलाई ऐच्छिक हुँदै हाल किनबेच भई नामसारी गर्न आएका सवारीसाधन र नवीकरण गर्न आएका सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था छ ।

सर्वोच्चले विद्यमान प्रचलित कानुनबमोजिम फैसला गरेका कारण कानुन संशोधन गरेर देवनागरी लिपि प्रयोग गर्न लागिएको मन्त्री राईले बताए ।

Leave a comment

Your email address will not be published.