बन्धक बनाई फिरौती मागेको अभियोगमा ६ जना पक्राउ

दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका ३ बस्ने २७ वर्षीय पुरुषलाई बन्धक बनाई ७ लाख रुपैयाँ फिरौती मागेको घटनामा संलग्न अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका ३ बस्ने ३५ वर्षीय लीलाराम विक, ३५ वर्षीय मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका ७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका ६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजिरहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनू ड्राइभरलाई तपाईको नम्बर दिन्छु भनी बताएको र केही समयपछि लीलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश ०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका ५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाइराखेको होटलबाट सकुशल उद्धार गरी घटनामा संलग्न उनीहरूलाई घटनामा प्रयोग भएको गाडीसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a comment

Your email address will not be published.