माफी नमागेको भन्दै मिरुनाविरुद्ध भिक्षु फुर्बाले हाले मुद्दा

माफी नमागेको भन्दै बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले नायिका मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा हालेका छन्।

भिक्षु तामाङले बिहीबार काठमाडौं जिल्ला अदालतमा मिरुना र पृथ्वीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मु्द्दा दर्ता गराएका हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले फुर्बाको उजुरीमा विगतको सहमति अनुसार मिरुनाले माफी माग्ने कुरा कार्यान्वयन नगरेको उल्लेख रहेको बताए।

फुर्बाले दुवैजनाविरुद्ध कानुन बमोजिम सजाय मागेका छन्। पटक-पटक कुरा गर्दा पनि माफीका लागि मिरुना तयार नभएपछि मुद्दामा जानुपरेको फुर्बाले उल्लेख गरेका छन्।

फिल्म प्राविधिक ठकुरीले मिरुनाकै उक्साहटमा परेर आफूमाथि आक्रमण गरेको उनले जनाएका छन्।

काठमाडौंको सिभिल मलमा फिल्म ‘कबड्डी-४’को प्रचारका बेला गत जेठ १५ गते फुर्वाले दुर्व्यवहार गरेको भन्दै मिरुनाले झापड हानेकी थिइन्। त्यसपछि उनले फुर्बालाई सिंहदरबार प्रहरी बृत्तमा थुनाएकी थिइन्।

मिरुनाको उजुरीपछि प्रहरीले फुर्वालाई थुनेपछि बौद्ध भिक्षु र बुद्धिस्ट समुदाय आन्दोलित भएका थिए। उनीहरुले कबड्डी-४ फिल्म प्रदर्शन रोक्नुपर्ने माग गरेका थिए।

तर त्यसपछि फिल्म निर्मातासहितका पक्ष र बौद्ध समुदायबीच सहमति भएको थियो। त्यसबेला मिरुनालाई ब्याड टच गरेको स्वीकारेका फुर्बाले माफी पनि मागेका थिए।

Leave a comment

Your email address will not be published.