बञ्चरो प्रहार गरेर छोराले गरे ६८ वर्षीय बाबुको हत्या

बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बाबुको हत्या गरेका छन्।

डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो।

जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।

बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

उनले भने, ‘मानसिक अवस्था ठिक नभएका लोकराजले बन्चरो प्रहार गरेका हुन्। टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ।’

बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ।

झापामा लागुऔषधसहित दुईजना पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई पक्राउ गरेको हो।

प्रहरीले बुद्धवीरको साथबाट लागुऔषध तथा तीन थान मोबाइलसमेत बरामद गरेको छ।

दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a comment

Your email address will not be published.