यति धेरै पैसा बोकेर फरार भएका रहेछन् नेपाल बैंकका ब्रान्च म्यानेजर , बल्ल खुल्यो रहस्य

नेपाल बैंक लिमिटेडले एक ब्रान्च म्यानेर पैसा बोकेर फरार भएको पुष्टि गरेको छ । बैंकको बर्दिया स्थित गुलरिया शाखाका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० देखि ६० लाख रुपैयाँ बोकेर फरार भएको बैंकले पुष्टि गरेको हो ।

बैंकका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले न्यौपानेले कति पैसा लिएर भागेको भनेर एकिन नभएको तर ५० देखि ६० लाखको हिसाव नमिलेको बताए । ‘राम्रो क्षमता भएकोे मान्छे हो । नियत खराव भएपछि मान्छेको क्षमता मात्र राम्रो भएर हुँदो रहेनछ ।’ अधिकारीले भने, ‘हिसाव नमिले पछि हामीले उहाँलाई यो के भयो भनेर सोधेका थियौँ । उहाँ भोली पल्टबाट सम्पर्क विहिन हुनुभयो । त्यस्तै ५० देखि ६० लाखको हिसाव मिलेको छैन् । अनुसन्धान टोली बर्दिया पुगेको छ । अनुसन्धानबाट यो रकम बढ्न पनि सक्छन् ।’

अधिकारीले सोमबारसम्म कति रकम हराएको भनेर एकिन हुने बताए । ‘हाम्रो अनुसन्धान टोलीले अनुसन्धान सकाएर भोली (सोमबार) काठमाडौँ फर्किन्छ ।’, उनले भने, ‘भोली नै सबै विषय क्लियर भइहाल्छ ।’’ नेपाल प्रहरीलाई समेत जानकारी नदिएर बैंकले गुप्त रुपमा छानविन समिति बनाएर अनुसन्धान थालेको थियो । बैंकले अनुसन्धान थालेपछि न्यौपानेको परिवारले प्रहरीमा उजुरी दिएको थियो । उजुरी पछि यो विषय सार्वजनिक भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले खोजतलास गरिदिनुहुन भन्दै प्रहरीमा उजुरी परेको बताए । ‘हाम्रोमा परिवारको तर्फबाट खोज तलास गरिपाउँ भनी उजुरी आएको छ’, एसपी शाहीले भने, ‘हामीले हुलियासहितको विवरण देशभर पठाएका छौँ । उहाँको खोजी कार्य जारी छ ।’

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले न्यौपाने भागेर भारत पुगेको हुनसक्ने बताए । मोटिभेट न्यूजसँगको कुराकानीमा उनले भने, ‘प्रहरीमा परिवारको तर्फबाट उजुरी परेपछि खोजतलास जारी छ । मोवाइल ट्रयाक गर्दा अन्तिम पल्ट कैलाली र बर्दियाको सीमाना चिसापानीमा पुगेको देखिन्छ । त्यसपछि मोवाइल अफ छ ।’

उनले न्यौपानेको बिगत पनि राम्रो नभएको बताए । ‘उहाँ यसअघि सुर्खेतमा कार्यरत भएको जानकारी प्राप्त भएको छ । सुर्खेतमा अडिट नमिलेपछि बैंकको कारवाहीमा परेको देखिन्छ । पछि फेरी बैंकले बर्दिया पठाएर काममा लगाएको पाइयो । बैंकले अहिले निलम्बन गरेको जानकारी दिएको छ ।’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने ।

Leave a comment

Your email address will not be published.