राजनीतिक दलले राेकेका फाेहाेरका गाडी चलाउन प्रहरी परिचालन गरिँदै

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका गाडीहरू बीच बाटोमै रोकिएका छन् । सोमबार बिहान फोहोर बोकेर ल्यान्डफिल साइट हिँडेका गाडीमा अवरोध भएको हो ।

हिजो धुनिबेंशी नगरपालिकाका तीन राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै आजबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए ।

धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर आफूहरूका माग पूरा नभएसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

आइतबार ५५वटा गाडी फोहोर बिसर्जन गरेर फर्केकोमा आज भने त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरूले अवरोध गरेका हुन् । महानगरको वातावरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार फोहोर विसर्जन गर्न लगिएका झन्डै सयवटा गाडीलाई धुनीबेंसी–१ मा रोकिएको छ ।

‘केही बेरमा प्रहरी यही क्षेत्रमा आउँदै गरेको जानकारी आएको छ । प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न सकिन्छ कि भन्ने छ । अहिलेलाई सबै गाडी रोकिएको छ’, उनले भने ।

Leave a comment

Your email address will not be published.