हातमा ढुंगा बोकेर स्थानीयहरु डाँडामा, बञ्चरेडाँडा हिँडेका फोहोरका गाडी बाटोमै रोकिए

काठमाडौं ।

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् ।

बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए ।

‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् ।

तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न सकेका छैनन् ।’ ती स्थानीयले भने । उनका अनुसार स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् ।

केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर लैजान नदिनका लागि डाँडा, खोल्चा-खोल्ची लगायत सबै ठाउँमा स्थानीय भेला भएर बसेका छन् ।

थप सुरक्षाकर्मी नपुगेसम्म फोहोर जान सक्ने अवस्था अहिले छैन ।महानगरले मंगलबार २ सय ५० गाडी फोहोर लोड गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ४०–५० जना प्रहरी बञ्चरेडाँडामै छन् ।

आवश्यक परे ब्याकअप फोर्स खटाउने तयारी भइरहेको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.