सरकारले देशभर सिटामोल अभाव नभएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा पर्याप्त मात्रामा सिटामोल बाँडिएको जनाएको छ। मन्त्रालयका अनुसार राजधानी उपत्यकामा पनि केही दिनयता सिटामोल बाँडिएको छ।
औषधि व्यवस्था विभागले सिटामोल उत्पादनलाई तीव्र बनाएर देशैभर पठाएको छ। कोरोना संक्रमित बढेसँगै सिटामोल हाहाकार भएको बताइरहेका बेला सरकारी तथ्यांकमा भने अभाव भएको देखिँदैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले देशभर सिटामोल अभाव नहुने गरी आपूर्ति गरिएको जानकारी दिएका छन्।
कुन प्रदेशमा कति छ सिटामोल?
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरमा २७ लाख ६४ हजार
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडामा १० लाख ९८ हजार
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र पोखरा १८ लाख ट्याबलेट
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बुटवल २७ लाख ३० हजार
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र नेपालगञ्ज १० लाख २० हजार
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढी १८ लाख
उपत्यकामा
स्वास्थ्य मन्त्रालयले मंगलबार उपत्यका १६ वटा अस्पतालमा थप ८८ हजार ट्याबलेट सिटामोल वितरण गरिएको पनि जानकारी दिएको छ।
मन्त्रालयका अनुसार महाराजगञ्जस्थित शिक्षण अस्पताल दश हजार, पाटन अस्पतालमा १० हजार, राष्ट्रिय ट्रमा सेन्टरमा दश हजार, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ६ हजार, वीर अस्पतालमा पाँच हजार सिभिल अस्पतालमा १० हजार ट्याब्लेट दिइएको हो।
त्यसैगरी परोपकार तथा स्त्री रोग अस्पतालमा पाँच हजार, महाराजगञ्जस्थित प्रहरी अस्पतालमा पाँच हजार, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पाँच हजार, गंगालाल राष्ट्रिय मुटु सेन्टरमा दुई हजार, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा दुई हजार ट्याब्लेट उपलब्ध गराइएको छ।
उता भक्तपुर अस्पतालमा पाँच हजार, भक्तपुर क्यान्सर अस्पतालमा दुई हजार, राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्रमा तीन हजार, आयुर्वेद अस्पताल नरदेवीमा दुई हजारसहित ८८ हजार ट्याब्लेट वितरण गरिएको हो।