रकम नभएको खाताको चेक दिएर साढे नौ लाख ठगी गर्ने पक्राउ

खातामा पर्याप्त रकम भएको जानी जानी चेक दिएर ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–८ बस्ने वर्ष ४० को लबराज ओली रहेका छन्।

ओलीले २०७६ वैशाख ४ गते ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास बैंक लिमिटेड) मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी ९ लाख ६३ हजारको चेक दिएका थिए।

खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ फागुन २३ मा ओलीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित प्रहरी टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–६, गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

Leave a comment

Your email address will not be published.