मन्त्री रेणु यादवलाई पदबाट बर्खास्त गर्न माग गर्दै प्रहरीमा जाहेरी

जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने धम्की दिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

जनता समाजवादी पार्टी (जसपा) की नेतृ समेत रहेकी मन्त्री यादवले साम्प्रदायिक दंगा भड्काउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता रञ्जित कर्णले मुलुकी अपराध संविधान ०७४ बमोजिम बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्।

माघ ५ गते जसपाले रौतहटको गौरमा आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन्।

मन्त्री यादवको उक्त अभिव्यक्तिले दुई समुदायबीच साम्प्रदायिक द्वन्द्व फैलाउन मद्दत पुगेको नेता कर्णको उजुरीमा उल्लेख छ।

मन्त्री यादवको अभिव्यक्ति मुलुकी अपराध संहिता ०७४ को दफा ४९ (४) बमोजिमको अपराध भएको उल्लेखसहित जाहेरीमा उनलाई दफा ५ (ग) बमोजिमको कैद र जरिवाना गर्न माग गरिएको छ।

कर्णले विहीबारै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्। यो खबर नेपालखबरमा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.