बेड नपाउँदा प्रसूतिका लागि आएका महिला चिसो ग्यालरीमा सुत्न बाध्य

भेरी अस्पताल भन्छ– प्रसूति वार्डमा प्रशस्त बेड र बस्ने ठाउँ नभएकाले पूर्ण रूपमा बेथा नलागेका गर्भवतीलाई बाहिर राख्ने गरेका छौँ

भेरी अस्पतालमा बस्ने ठाउँ नहुँदा प्रसूतिका लागि आएका महिला ग्यालरीमा रात बिताउन बाध्य छन् । सुत्केरी बेथा लागेर अस्पताल आएकाहरू बेड नपाएर कठ्यांग्रिने जाडोमा ग्यालरीमा रात बिताउन बाध्य भएका हुन् ।

१३ माघ बिहान ४ बजे छोरीलाई सुत्केरी बेथा लागेपछि भेरी अस्पताल ल्याए पनि अहिलेसम्म बेड नपाएको बैजनाथ गाउँपालिका–७, पेडारीका राधाकृष्ण थारूले बताए । बिहीबार बेलुकी ७ बजे भेरी अस्पतालको प्रसूति वार्डको ग्यालरीमा छोरीसँगै रहेका उनले पाठेघरको घर नखुलेका कारण अस्पतालले बेड नदिएको गुनासो गरे । चार घर खुलेपछि मात्र भर्ना गर्न सकिने स्टाफ नर्सले जवाफ दिएको बताए । ‘पूर्ण रूपमा बेथा लागेपछि मात्र बेडमा लैजाने भन्छन्,’ थारूले भने ।

पत्नीलाई सुत्केरी बेथाले च्यापेपछि कोहलपुर नगरपालिका–१३, खर्गवारका विनोद घर्तीले १३ माघ दिउँसो १ बजे भेरी अस्पताल ल्याए । तर, उनलाई पनि अस्पतालले भर्ना लिन मानेन । पाठेघर पूर्ण रूपमा नखुलेका कारण अस्पतालले भर्ना लिन नमानेको उनले बताए । प्रसूति वार्डको ग्यालरीमा सुत्ने चाँजोपाँजो मिलाउँदै गरेका विनोदले चिसोले गर्भवती महिलालाई थप समस्या निम्त्याउने खतरा औँल्याए । ‘घर लैजाने हो भने कतिखेर बेथाले च्याप्ने हो पत्तो छैन । यहाँ राख्ने हो भने थप समस्या निम्तिने खतरा छ,’ घर्तीले भने ।

खजुरा गाउँपालिका–१, सैनिककी सविता घलेको ४ माघमा बच्चा जन्मिने मिति तोकिएको थियो । तोकिएको मितिमा बच्चा नजन्मिएपछि आमा गंगा भाटले भेरी अस्पताल लिएर आइन्, तर उनले पनि बेड पाइनन् । उनी दुई दिनदेखि प्रसूति वार्डको चिसो ग्यालरीमा बस्दै आएकी छिन् । ‘कडा बेथा नलागेकाले भर्ना गर्न मिल्दैन भनेर बाहिर राखेका छन्,’ गंगाले भनिन्, ‘हामी त यता न उताका भयौँ । बाध्य भएर ग्यालरीलाई वास स्थान बनायौँ ।’

थारू, घर्ती र घले मात्र नभई सुत्केरीका लागि आएका महिलाहरू चिसो ग्यालरीमा बस्न बाध्य छन् । चिकित्सक र स्वास्थ्यकर्मीको हेरचाह सहज र सरल रूपमा पाइने भएकाले बेथाले अलिअलि च्याप्नेबित्तिकै गर्भवतीका आफन्तले हतार–हतार अस्पताल ल्याउने गरेका छन् । आत्तिएर अलिअलि बेथा लाग्नेबित्तिकै अस्पताल ल्याएको गंगाले बताइन् । ‘सहन नसक्ने गरी पेट दुख्न थालेपछि छोरीलाई अस्पताल ल्यायौँ, तर यहाँ ल्याउँदा पाठेघर पूर्ण रूपमा नखुलेको भन्दै बाहिर बस्न भनियो,’ उनले भने ।

भर्ना नपाएर सुत्केरी बेथा लागेका महिला र उनका परिवारका सदस्यहरू ग्यालरीमा सुत्न बाध्य भएका मात्र छैनन्, चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो उपचारसमेत पाउँदैनन् । कडा बेथा नलागेसम्म प्रसूति वार्डमा नलैजाने भएकाले चिसो ग्यालरीमा रहेका गर्भवती महिलाहरूले चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो स्याहार, सुसार नपाउने गरेका हुन् । ‘भित्र जान दिँदैनन्, बाहिर रहेकालाई चिकित्सक र स्वास्थ्यकर्मीले हेर्ने कुरै भएन । अप्ठेरो अवस्था आए मात्र भित्र लैजान्छन्,’ गंगाले भनिन् । उनले भेरी अस्पतालले सुत्केरी महिलालाई गर्ने व्यवहार राम्रो नभएको बताइन् । सोधपुछ गर्न जाँदासमेत स्टाफ नर्सहरू रिसाउँछन् । ‘बेथा लागेर रुँदा, कराउँदासमेत वास्ता गर्दैनन्,’ उनले भनिन् ।

भेरी अस्पतालमा बेड र जनशक्ति अभाव
प्रसूति वार्डमा प्रशस्त बेड र बस्ने ठाउँ नभएका कारण पूर्ण रूपमा बेथा नलागेका गर्भवतीलाई बाहिर राख्ने गरेको अस्पतालका प्रमुख नर्सिङ प्रशासक (मेट्रोन) दुर्गालक्ष्मी श्रेष्ठले बताइन् । उनले अलिअलि बेथा लागेका गर्भवती महिलालाई भित्र राख्न सम्भव नभएको स्पष्ट पारिन् । ‘दैनिक ५०–६० जना गर्भवती प्रसूति वार्डमा आउँछन् । सबैलाई राख्ने हो भने सुत्केरीलाई राख्न समस्या पर्छ,’ उनले भनिन् ।

अस्पतालको प्रसूति वार्डमा जनशक्ति पर्याप्त नभएको उनले बताइन् । जनशक्ति र भौतिक संरचनाको अभावका बीच पनि अस्पतालले गुणस्तरीय सेवा दिँदै आएको उनको भनाइ छ । बाहिर राखे पनि स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्दै आएको उनले जिकिर गरिन् । ‘अलिकति साह्रोगाह्रो हुनेबित्तिकै स्टाफ नर्सहरूले भित्र लैजान्छन् । धेरै गाह्रो भए चिकित्सक आएर उपचार गर्छन्,’ उनले भनिन्, ‘बाहिर बस्न र सुत्न समस्या छ, तर स्वास्थ्यकर्मीको निगरानी भइरहने भएकाले गर्भवती महिला सुरक्षित रहन्छन् ।’

भेरी अस्पतालमा कोभिड र सामान्य गरी दुईवटा डेलिभरी बेड र ३५ वटा पोस्ट नेटल बेड छ । अहिले बाँकेमा भेरी अस्पतालले मात्र प्रसूति सेवा दिएकाले थेग्न नसकिने अवस्था रहेको उनले बताइन् ।

Leave a comment

Your email address will not be published.