आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले आज बुधबार सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष मनाउँदै छन्। माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारमा आज बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

ल्होसार पर्व मनाउन आज देशभर विविध कार्यक्रम हुँदै छन्। मञ्जुश्री पात्रोअनुसार आज २८५८औँ वर्ष सुरु भएकाे हाे। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम गर्ने यस वर्ष नयाँ भेरिएन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन।

समितिका कार्यकारी निर्देशक वसन्त लामाले यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताएका छन्।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकाल्ने गरिएको थियो।

दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि यसपालि स्थगन गरिएको जनाइएको छ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजापाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ। देशका अन्य भागमा पनि ल्होसार मनाउने तयारी भइरहेको छ।

Leave a comment

Your email address will not be published.