युट्युबर कुट्ने म्यानपावर सञ्चालक पक्राउ

काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन्। सरकारले गठन गरेको ‘मार्शल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको छ।

मंगलबार ठगिएका युवासहित कार्यालयमा पुगेका युट्युबर र सामाजिक अभियन्ता बताउने युवाहरु उनको म्यानपावर कम्पनीमा कुटिएका थिए। कुटपिटबाट मेचिङ नेपाल च्यानलका दिपेशराज पाण्डे, हरिप्रसाद पाठक र अर्का युवा दशरथ भण्डारी घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

यसअघि कुटपिटबाट घाइते भएका व्यक्तिका आफन्त महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पुगे पनि वृत्तले उजुरी लिन नमानेको उनीहरुको गुनासो छ।

वृत्तका डीएसी प्रमेश विष्टले म्यानपावर सञ्चालकलाई बचाउन खोजेको उनीहरुको आरोप छ। म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीहरु आक्रमणमा परेका थिए।

पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ। ब्यूरोले थप अनुसन्धान सुरु गरेको छ। यो खबर नेपालखबर न्युजमा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.