प्रहरीको सई हुँ भन्दै लुटपाट गर्ने युवक पक्राउ

प्रहरीको सई हुँ भन्द्रै लुटपाट गर्ने एक युवकलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ कर्जाहीका २५ वर्षीय छ्याक्ले भनिने अनिल पुन छन्।

पुनले माघ १७ गते राति १० बजेतिर घोराही १५ आर्मी ब्यारेक नजिकको सडकमा आफू प्रहरीको सई हुँ भन्दै मार्सल पुन मगर र सन्तोष खड्कालाई लुटपाट गरेका दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

सडकमा पैदल हिँडिरहेका मगर र खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा सवार पुनसहित अर्का एक व्यक्तिले एक्कासि कुटपिट गरेका थिए। आफू प्रहरीको सई रहेको भन्दै अपशब्द प्रयोग गरी आफूहरुमाथि कुटपिट भएको पीडितले बताएका छन्।

त्यसक्रममा उनीहरूले मगर र खड्काको साथमा रहेको नगद चार हजार र मोबाइल समेत लुटेर लगेका अनुसन्धानको क्रममा खुलेको छ।

घटनामा संलग्न अर्का एक युवक भने फरार रहेका प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published.