अमेरिकाको आक्रमणमा मारिए आईएसका नेता

अमेरिकाले सिरियामा गरेको एक सैन्य कारबाहीमा चरमपन्थी संगठन आईएसआईएलका नेता मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आदेशमा सिरियामा आईएसका नेतालाई लक्षित गरेर आक्रमण गरिएको र सो आक्रमण सफल पनि भएको बताएका छन्।

यद्यपि समाचार एजेन्सी एपीले भने अमेरिकाको आक्रमणपछि आईएसका नेता अबु इब्राहिम अल हासिमि अल कुरेसीले आत्महत्या गरेको बताएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त आक्रमण सरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा गरिएको हो। अमेरिकी सेनाले गरेको यो आक्रमणमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा चार महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित गरी आक्रमण गरिएको हो।

सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ । साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको पकड क्षेत्र मानिन्छ ।

बुधबार रातभर गरिएको सो कारबाहीमा भवनहरू क्षतिग्रस्त भएका छन् । इस्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल–बग्दादी अक्टोबर २०१९ मा मारिएपछि उत्तर–पश्चिम सिरियामा भएको यो अमेरिकी कारबाही सबैभन्दा ठूलो भएको बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्था, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स बताएको छ ।

वर्षौंदेखि, अमेरिकी सेनाले उत्तरी सिरियामा अल–कायदाका नेताहरूलाई परास्त गर्न ड्रोन आक्रमण जारी राखेको छ ।

Leave a comment

Your email address will not be published.