गत असोज १३ गते अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रचण्डबीच आइतबार बिहान आधा घण्टा छलफल भएको हो।
मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) को मुख्यालयलाई देउवा-प्रचण्डले यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्ने भन्दै गत असोज १३ गते संयुक्त हस्ताक्षरसहितको पत्र पठाएका थिए।
तर, त्यो पत्र बालुवाटारले आइतवार बिहान सार्वजनिक गरिदिएपछि देउवासँग वार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका थिए। देउवानिकट स्रोतका अनुसार देउवा र प्रचण्डबीच बालुवाटारमा बिहान ९ बजेदेखि आधा घण्टा छलफल भएको हो।
त्यो छलफलपछि प्रचण्डकै सल्लाहअनुसार देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल बालुवाटार बोलाएका थिए।
अहिले तीन नेतासहित बालुवाटारमा छलफल हुन लागेको छ। उक्त छलफलमा ओलीले महासचिव शंकर पोखरेललाई पनि लिएर जाँदैछन्।
यसअघि प्रचण्डनिकट नेताहरुले टेलिफोनमै प्रचण्डले देउवासँग असन्तुष्टि जनाएका थिए। त्यसपछि संयुक्त हस्ताक्षरित पत्र सार्वजनिक गरेकोमा पनि आपत्ति जनाएको खुमलटारले जनाएको थियो।
तर, देउवानिकट स्रोतले भने बिहान दुई नेताबीचको छलफलपछि प्रमुख प्रतिपक्षी एमालेसँग बस्ने सहमति जुटाएको बताएको छ।
‘उहाँहरूबीच बालुवाटारमा आधा घण्टा छलफल भएको थियो, स्रोतले भन्यो, ‘उहाँहरुबीचकै सहमति अनुसार एमालेसँग पनि छलफल गरौ भनेर एमाले अध्यक्ष केपी ओलीलाई बोलाइएको हो।’