ठगीको नयाँ तरिका : जग्गा दिने भन्दै सुकुम्बासीबाटै पैसा असुल्दै, दुईजना पक्राउ

जग्गा दिने लोभ देखाएर सुकुम्बासीलाई नै ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भूमि आयोगको मान्छे हुँ, जमिन दिलाई दिन्छु भनी सुकुम्बासीलाई ठगी गरेको प्रहरीले काठमाडौंबाट २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन्।

उनीहरुले काठमाडौं महानगरपालिका-१६ वसन्तनगरस्थित भेटघाट क्याफेमा सुकुम्बासीहरूलाई जग्गा दिन्छौँ भन्दै फाराम भर्न लगाएर पैसा असुलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई ठगीमा प्रयोग भएका सामानसहित पक्राउ गरेको हो। दुवैको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारम, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएका फाराम, विभिन्न ब्यक्तिको नाम र फोटो समेत राखिएका रेकर्ड फाइल, स्पिकर १ थान र मोबाइल ३ थान बरामद भएको छ।

अनुसन्धानको क्रममा भूमि आयोगले खटाएका व्यक्तिका रुपमा परिचय दिँदै उनीहरुले काठमाडौंका सुकुम्बासीलाई ४ आना जग्गाका लागि जनही ५० हजार रुपैयाँको दरले मागेको खुलेको छ। उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a comment

Your email address will not be published.